सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

ठाउँ विवादका कारण जितपुरसिमरा उपमहानगरपालिकाको शपथ ग्रहण स्थगित

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । 

शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो । 

उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गर्नुभएको थियो ।  तर, न्यायिक इजलास कक्ष भत्काएर बनाइएको उपमहानगर प्रमुखको कक्षमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यहरूले अस्वीकार गर्नुभएको छ । 

नगरबासीलाई न्यायिक सेवा दिने इजलास भत्काएर बनाइएको कक्षमा नभई आफूहरूलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा शपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरूले प्रमुख पौडेलसँग आग्रह गर्नुभएको थियो ।

प्रमुख पौडेलले भने आफ्नो कक्षबाहेक अन्यत्र गएर शपथ ग्रहण नगराउने अडान लिँदै आउनुभएको छ ।  शपथ ग्रहण गराउने आफ्नो काम भएको र आफूले तयारी गरेकै स्थानमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई उहाँको आग्रह छ ।

यसपछि भने प्रमुख पौडेलसँग कार्यपालिका सदस्यहरू आक्रोशित नै भए ।  दुवै पक्षले अडान नछाडेपछि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो ।

शपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टिकामणि न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाण–पत्र वितरण गरिसक्नुभएको छ । प्रमाण–पत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइए पनि उहाँ भने सहभागी हुनुभएन । 

उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठ जना उम्मेदवार निर्वाचित हुनुभएको थियो ।

निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी रहनुभएको छ।  दलित तथा अल्पसङ्ख्यकतर्फ अर्जुन विक, प्रह्लाद साह सोनार र प्रभावती देवी पासवान निर्वाचित हुनुभयो । 

कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी हुँदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको सङ्ख्या २२ पुगेको छ भने माओवादीको पाँच, काँग्रेसको पाँच, लोसपा र एकीकृत समाजवादीको एक–एक जना सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १० : ५२ बजे