अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो …? कवि धरणीधर कोइरालाले यस्तो लेख्नुभएको छ । वास्तवमा मानिसको जीवन अति नै सुन्दर छ, किन भने विविधतालाई सुन्दर मान्ने गरिएको छ र जीवन विविधताको सङ्गम हो । तर, मानिसले यसलाई भाग्यको हातमा सुम्पिदिएर जीवनलाई आफू स्वयंभन्दा अलि पर सारेको पनि छ । भाग्यको भर छोडेर मानिस आफैले यसलाई आफ्नो जिम्मामा लिन सक्दा यो अझ सुन्दर बन्न सक्दछ ।
मानिसले जन्मजात प्राप्त गरेका सुन्दरतालाई मात्र हेर्दा पनि मानव जीवनको सुन्दरता अझ निख्खर देखिन्छ । यी सुन्दरता हुन्—बोल्न सक्दछ, बुझ्न सक्दछ, गर्न सक्दछ, गराउन सक्दछ, हिँड्न सक्दछ, हेर्न सक्दछ, आफ्नो लागि र अरूका लागि समेत केही न केही गर्न सक्दछ । किन कि वास्तविक सुन्दरता भनेको मानिसको ज्ञान, सीप, क्षमता र यिनीहरूको समुचित उपयोग नै हो । किन कि हामी समग्र मानव जीवनको सुन्दरताको कुरा गरिरहेका छौँ, न कि मानिसका शरीर र अनुहारको सुन्दरताको ।
वास्तवमा जीवन के हो त ? यस विषयमा सबैको एउटै राय सम्भव छैन । मानिसले जीवन नचिनेर होइन, जीवन बाँच्ने, जीवन बुझ्ने दृष्टिकोण तथा यसलाई व्यक्त गर्ने शैलीमा रहने भिन्नताले गर्दा जीवनको परिभाषा नै फरक फरक पाइनु स्वाभाविक हो । कुनै पनि विषयलाई संसारका मानिसहरूले व्यक्त गर्ने शैली एउटै नहुनुलाई अनौठो मान्न सकिँदैन ।
कसैले जीवनलाई दुःखैदुःखको सागर भनेको सुनिन्छ त कसैले जीवनलाई संघर्षै संघर्षको सिलसिला भनेका छन् । कसैले जीवनलाई काँडै काँडाको जञ्जाल भनेका छन् भने कसैले सुख र दुःखको सङ्गम पनि भनेका छन् । कसैले जीवनलाई अविरल यात्रा मानेका छन् । कसैले जीवनलाई खेलमैदान मानेका छन् भने कसैले जीवनलाई असल कामहरूका लागि पाइएको अवसर भनेका छन् । अरू कसैले अन्य केही पनि मानेका होलान् । जे होस्, जीवन संसारमा केही राम्रो गरेर देखाउने सुनौलो अवसर हो । र, यो खेर फाल्न नहुने विषय हो ।
जसले जेसुकै मानेका भए पनि जीवनलाई जीवन त सबैले मानेकै छन् । जीवनलाई जसरी हेरिन्छ, यो त्यस्तै देखिन्छ । दुःखैदुःखको किनाराबाट यसलाई हेरियो भने जीवनमा दुःखै दुःख देखिन्छ । अर्को किनाराबाट हेरियो भने यो फरक पनि देखिन सक्दछ । जीवन के हो भन्ने विषय जीवनलाई कसरी हेर्ने भन्ने विषयसँग जोडिएको विषय हो ।
जीवनमा मानिस आफ्नो र आफ्ना प्रियजनको विवाहमा गएर नाचेको छ भने मानिसले आफ्ना प्रियजनको वियोग पनि बेहोरेको छ । कुनै छाक बेस्सरी मीठो मसिनो खाएको छ भने कैयौँ छाक भोकै सुत्नुपरेको पनि होला ।
मानिसलाई कसैले माया गरेका होलान्, कसैले सम्मान गरेका होलान् र कसैले निन्दा, घृणा र विरोध पनि गरेका होलान् । कहिले आहा ! भन्ने दिन आयो होला, कहिले आत्था भन्ने दिन पनि आयो होला । जीवनलाई कहिले पोल्यो होला । यसलाई कहिले काँडाले घोच्यो होला । कहिले यसलाई तुसारोले कठ्याङ्ग्रायो होला । तर, सधैँ यसै यसै मात्र भने पक्कै पनि भएन ।
जीवनसँग बिरक्तिएर, जीवनलाई सत्तोसराप गरेर, जीवनसँग थाकेर, जीवनसँग हारेर जीवन सुखमय हुन सक्दैन । वास्तवमा भन्ने हो भने जीवनका दुखाइहरूमा पनि सम्भावनाहरूको खोजी गर्नु नै जीवन हो । जीवन जीवनमा मात्र हुन्छ । जीवनभन्दा पर, जीवनभन्दा छुट्टै खोजेर जीवन पाइँदैन । जीवनमा जे पाइन्छ सोझै वा त्यसको रूप बदलेर उपयोग गर्न सकियो भने जीवनको आनन्द भिन्दै हुन्छ ।
सम्भवतः तपाईँले यो गीत सुन्नुभएको हुनु पर्दछ । गीतका यी हरफहरू भारतीय फिल्म अभिनेता देव आनन्द अभिनीत हिन्दी फिल्म ‘हम दोनाें’ मा गाइएका हरफ हुन् ।
मैं जिन्दगी का साथ निभाता चला गया
हर फिक्र को धूएँ में उडाता चला गया
बर्बादियों का फिक्र मनाना फजुल था,
बर्बादियों का जश्न मनाता चला गया ।
‘म जीवनको सङ्गत गर्दै गएँ
सबै चिन्ता धुवाँमा उडाउँदै गएँ
बर्बादीको चिन्ता बेकार थियो
बर्बादीको उत्सव मनाउँदै गएँ ।’
जीवनको केही बान्की यी पङ्क्तिहरूबाट पनि पाउन सकिन्छ ।
वास्तवमा जीवन सुख दुःख सहितको यात्रा हो । यहाँ सङ्घर्ष छ, विजय पराजय छ । पराजयमा पनि शिक्षा छ, विजयमा पनि बोझ छ । सुखको विजयको कामना गर्न र प्राप्तिका लागि सङ्घर्ष गर्न सकिन्छ, तर पराजय र दुःखबाट भाग्न सकिन्न । दुःख सम्झेर जीवनलाई दुःखकै जिम्मा लगाइदिनुभन्दा यसका सुख सन्तोषका पक्ष सम्झेर आनन्दित हुन र त्यस्ता दिनका लागि प्रयत्नशील रहनु नै बुद्धिमानी हुन्छ ।
प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार १० : ०५ बजे
प्रतिक्रिया