सडक यातायात क्रमशः सहजतातर्फ

अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं – नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल नागरिक समाज (सिस नेपाल) का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि १३ लाख ३७ हजार २० रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएको छ । उनीहरुले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा अदुवा खेतीका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषबाट अनुदान लिएका थिए । तर रकम खर्च नगरी नक्कली बील बनाएको आरोप उनीहरुमाथि छ ।

प्रेस विज्ञप्ति:-

मिति २०७९।०२।१८ गते ।

जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी रु.१३,३७,०२०।- रकम खाई मास्ने उद्देश्य लिई सरकारी/सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो रु.१३,३७,०२०।– (तेह्र लाख सैतीस हजार बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (च) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पुर्‍याएको बिगो असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता

श्याम प्रसाद भण्डारी

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ६ : १९ बजे