सुर्खेत । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी कांग्रेस र माओवादीले मिलेर चुनाव लडेपनि कार्यपालिकाको चुनावमा भने त्यो टिक्न सकिरहेको छैन ।
जिल्लाको चौकुने गाउँपालिकाको कार्यापालिकाको निर्वाचनमा कांग्रेसको गठबन्धन तोडी माओवादी केन्द्र एमालेसँग मिलेको हो ।
कार्यपालिकाको चुनावमा एमाले र माओवादी गठबन्धन विजयीसमेत बनेको छ ।
कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव भएको थियो ।
सार्वजनिक परिणामअनुसार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोली विजयी बन्नुभयो ।
यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रबाट अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी हुनुभएको हो ।
चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित हुनुभएको थियो ।
१० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ४ : ४५ बजे
प्रतिक्रिया