अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

क्यानबेरा । अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । 

लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाउनु भएको हो । 

क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उहाँले मन्त्रीहरूलाई सपथ खुवाउनु भएको जनाइएको छ ।  

अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ । 

मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।    

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बन्नु भएको थियो । 

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बन्नु भएको छ । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाउनु भएको हो । 

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

अहिले लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उहाँले एकल मन्त्रिपरिषद् गठन गर्नु भएको हो । कुल १५१ सिट रहेको अष्ट्रेलियाको तल्लो सदनमा बहुमत पुर्‍याउन कम्तीमा ७६ सिट जित्नु पर्नेमा लेबरले त्योभन्दा बढी जितिसकेको छ । कतिपय ठाउँमा अहिले पनि मतगणना भइरहेकाले अन्तिम नतिजा आउन बाँकी नै रहेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : ५८ बजे