सडक यातायात क्रमशः सहजतातर्फ

अनुसन्धानका लागि दुर्घटना जाँच आयोगले जिम्मा लियो तारा एयरको ब्ल्याक बक्स

काठमाडौं – तारा एअरको विमान दुर्घटना जाँचका लागि गठन भएको आयोगले अनुसन्धानका लागि जहाजको ब्लयाक बक्स जिम्मा लिएको छ ।

जहाजको ककपिट भिडियो रेकर्ड (ब्ल्याक बक्स) दुर्घटनास्थलबाट खोजी गरी आफ्नो जिम्मामा लिएको र मृतकहरूको शव परीक्षणको कार्य त्रिवि शिक्षण अस्पतालमा जारी रहेको जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन सोमबार पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

आयोगमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने सदस्य हुनुहुन्छ । यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको जनाइएको छ ।

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरामा तारा एअरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ५७ बजे