उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत वैशाख ३० गत भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ ।
नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ ।
नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मङ्गलवार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।
अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई, महिला सदस्यमा स्मृति तोलाङ्गी ‘सुयल’, तिलावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्तिदेवी चौधरी रहनुभएको छ।
उहाँहरूलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचित हुनुभएका नगर कार्यपालिका सदस्यहरूलाई प्रमाणपत्र समेत हस्तान्तरण गर्दै नगर प्रमुख कालुमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, वडा अध्यक्ष, सदस्य, एमालेका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
निर्वाचित कार्यपालिका सदस्यहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरूले योजना छनोट सर्वदलीय छलफलमार्फत गर्न आग्रह गर्नुभयो ।
चौदण्डीगढी नगरपालिकालाई समृद्ध बनाउने दायित्व जनप्रतिनिधिहरूको काँधमा आएकाले उक्त दायित्व पूरा गर्न सबै पक्षलाई समेट्नुपर्ने लामाले धारणा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ९ : १० बजे
प्रतिक्रिया