पोखरा । पोखरा महानगरको कार्यपालिकाले आज पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज कार्यपालिकाको निर्वाचन तोकेको छ ।
संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अनुसार पोखराको नगर सभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयरसहित ८७ सदस्य छन् ।
मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन । उनीहरूले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् । निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने काँग्रेसले ८१ जनालाई लेक साइडको होटल कान्तिपुरमा राखेको छ ।
एमालेले सोमबारदेखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो । काँग्रेसले पनि मङ्गलवार होटलमा पुर्याएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित तथा अल्पसङ्ख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन् ।
काँग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र जनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसङ्ख्यकमा काँग्रेसले उम्मेदवार उठाएको छैन । गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् ।
सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्छ । एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ ।
कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ । बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगर सभामा समेत गठबन्धनले बहुमत पुर्याउन सक्छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ७ : २४ बजे
प्रतिक्रिया