काठमाडौँ । अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ ।
बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को १७ औँ मन्त्रिस्तरीय बैठकलाई बिहिबार अपराह्न अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकजस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन बढाएर विकास र समृद्धिलाई टेवा दिनसक्ने बताउनुभयो ।
साथै उहाँले बिम्स्टेक मुलुकका जनतालाई गरिबी र भोकमरीविरुद्ध लड्दै मर्यादित रोजगारीको सुनिश्चितता तथा दिगो जीवनयापन झनै चुनौतीपूर्ण बनेको बताउनुभयो । “सदस्य राष्ट्रहरूको सुदृढ राजनीतिक इच्छा र प्रतिबद्धताबाटै यो क्षेत्रीय सङ्गठनलाई अघि बढाउन सकिन्छ, बिम्स्टेक मुलुकका जनताको जीवनमा सकारात्मक परिवर्तन गर्ने परिणाममूलक मार्गचित्र बनाउन अपरिहार्य भएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो ।
तीन वर्षअघि काठमाडौँमा सम्पन्न बिम्स्टेकको चौथौ शिखर सम्मेलनले परिकल्पना गरेको अझ उपयुक्त बिम्स्टेकको संरचनागत रुपरेखा तथा कानुनी प्रावधानको स्मरण गर्दै उहाँले क्षेत्रीय सहयोग प्रवद्र्धन तथा यस क्षेत्रका जनताको बृहत् लाभका खातिर पाँचाँै शिखर सम्मेलनलाई सफल तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकले पाँचौँ शिखर सम्मेलनमा आपराधिक गतिविधि नियन्त्रण गर्न पारस्परिक सहायतासम्बन्धी बिम्स्टेक सन्धि, कोलम्बोमा बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापना गर्नेसम्बन्धी नियम, बिम्स्टेक राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण प्रतिष्ठानबीच पारस्परिक सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि सिफारिश पनि गरेको छ । रासस
प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ७ : ३४ बजे
प्रतिक्रिया