स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । प्राप्त सिट संख्याका आधारमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेका छन् भने अन्य दलहरू निकै पछि रहेका छन् । चुनावी परिणामसँगै यसको अनेक कोणबाट विश्लेषण सुरु भएको छ । अनुमान विपरीतका परिणामले दलहरूलाई अब नयाँ ढंगले सोच्न र अपूर्ण व्यवस्था र प्रणालीलाई पूर्ण बनाउने चुनौती पेश गरिदिएको छ । मूलतः स्थानीय निर्वाचनलाई ‘वाम–पुँजीवाद’ र ‘वाम–रुढीवाद’ को समीकरणले भारी मात्रामा प्रभावित तुल्याए पनि परिणामले वामशक्ति र पुँजीवादी शक्तिलाई जनादेश प्राप्त भएको प्रष्ट पारेको छ । दाबी गरिएअनुसार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतसँग नेपाली काँग्रेसको गठबन्धनलाई वाम—पुँजीवादी र कहीँ कहीँ मात्र राप्रपासँग गरेको नेकपा एमालेको तालमेललाई वाम—रुढीवाद भनिएको हो ।
अलमलमा वामः पुँजीजवादको कुटिल चाल
अनुमान विपरीत नेपाली कांग्रेसले धेरै स्थानमा जित हासिल गरी पहिलो दल बनिरहँदा गठबन्धनकै नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत (समाजवादी) लगायतका अन्य दलहरूको सोचेभन्दा कम स्थानमा भएको विजयले नेपाली कांग्रेसको गठबन्धनप्रतिको इमान्दारितामा प्रश्न उठेको छ । यो स्वभाविक हो कि विगतका मुख्य प्रतिस्पर्धी अझ स्पष्ट रूपमा भन्दा १० बर्षे युद्ध कालमा भयावह र त्रासको वातावरणमा बाँच्न बाध्य कांग्रेसका कार्यकर्ता र मतदाताले माओवादीलाई मत दिने सम्भावना थिएन । यसका वाबजुद भरतपुर लगायतका ठाउँहरूमा अधिकांश कांग्रेस मतदाताले माओवादीलाई गरेको मतदानबाट उसले सम्मानजनक स्थानमा जित हासिल गरेको छ ।
अर्कातिर नेकपा (एमाले)बाट अलग भएर बनेको नेकपा (एकीकृत समाजबादी) ले धेरै ठाउँमा गठबन्धनबाट धोखा खाए पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्राप्त जित गठबन्धनकै उपज हो । समग्रमा भन्दा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट पुँजीवादी शक्ति नेपाली कांग्रेसलाई फलिफाप भएको छ भने नेकपा (माओवादी केन्द्र) को शक्तिमा सुधार र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो अस्तित्व कायम गर्न सफल भएको देखिन्छ ।
अब प्रश्न उठ्छ, ‘नेपाली कांग्रेसलाई कसरी यस्तो फलिफाल सम्भव भयो ?’ जवाफ स्पष्ट छ कि नेपालका वामशक्ति अलमलमै परिरहे भने नेपाली कांग्रेसले वाम शक्तिको अलमलको अवस्थाबाट भरपुर फाइदा उठाउन कुटिल चाल चल्दै गयो ।
स्थानीय निर्वाचन घोषणा भएसँगै नेकपा (माओवादी केन्द्र) मा सबैभन्दा बढी अलमल देखियो । उसले कैयौँ पटक निर्वाचन सार्नलाई सत्ता गठबन्धनको ठूलो घटक नेपाली कांग्रेसलाई बारबार प्रस्ताव गरिरह्यो । एक्लै चुनावको सामना गर्ने आत्मविश्वासको कमीले कांग्रेससँग उसले दबावपूर्ण शैलीमा आफूसँग कांग्रेसले गठबन्धन नगरे एमालेसँग गठबन्धन गर्ने धम्की दिइरह्यो र कांग्रेसलाई आफूसँगको गठबन्धनलाई स्वीकार गर्न बाध्य तुल्यायो । यही अवस्थामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले नेकपा (एमाले) का दोस्रो तहका नेताहरूसँगको वार्तालापलाई पनि छद्म ढंगले अगाडि बढाइरहे । माओवादीको लागि वाम तथा कम्युनिष्ट विचारधाराको रक्षा गर्ने तिर भन्दा नितान्त प्राविधिक र व्यावहारिक राजनीतिको बढावा गर्ने विषय प्रधान बन्न पुग्यो । यस अन्तर्गत उसले कुन शक्तिसँग गठबन्धनमा जाँदा आफूलाई बढी लाभ हुन्छ भन्ने कोणबाट मात्रै आफ्नो राजनीतिलाई अगाडि बढायो, जुन कम्युनिष्ट विचार र सिद्धान्तबाट विचलित राजनीतिको वकालत गरेको प्रमाणको रूपमा रह्यो ।
नेपाली कांग्रेस पनि माओवादीको मनोवैज्ञानिक भयबाट मुक्त हुन सकेन । आपूmले माओवादीलाई नसमेट्दा एमालेसँग गठबन्धनमा जाने र यो अवस्थामा देशैभर आफ्नो लज्जाजनक पराजय हुने त्रास कांग्रेसमा भइरह्यो । माओवादीमा देखिएको यस खालको स्थिरता र गतिशीलता बीचको अन्तद्र्वन्द्व नै गठबन्धनको एउटा कारक बन्न पुग्यो ।
नेकपा (एमाले) को उच्च तहको शक्ति–विन्यासमा एउटा शक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि थप ध्रुवीकृत हुँदै गयो भने पूर्व प्रधानमन्त्री सहित अर्को एउटा सानो शक्ति माधव नेपालको वरिपरि केन्द्रित हुँदै गयो । अर्कातिर माधव नेपाल र प्रचण्ड बीचको सम्बन्धले उनीहरूका बीचमा पार्टी एकतासम्म हुन सक्ने अनुमानहरू पनि थिए । केपी ओलीप्रतिको आवेग र पुरानो एमाले शक्तिलाई एकढिक्का पार्न केपी ओलीमा देखिएको असावधानीले माधव नेपाललाई प्रचण्ड नजिक पुर्यायो । अर्कातिर नेकपा (एमाले) को सशक्त सांगठानिक संरचना र शक्तिशाली जनाधार कब्जा गरी नेपालको वाम ध्रुवको एकल नेता बन्ने महत्वाकांक्षाका साथ एमाले सँगको एकता प्रक्रियामा आइपुगेका प्रचण्ड आफ्नो रणनीतिमा विफल हुनुको पीडाले माधव नेपाललाई ओली विरुद्ध प्रयोग गर्ने अर्को रणनीतिमा प्रचण्डलाई पुर्यायो । यसरी कम्युनिष्ट ध्रुवमा देखा परेको चरम गुटबन्दी, रस्सा–कस्सी र तीब्र शक्ति–संघर्षको अवस्थालाई नेपाली कांग्रेसले आफ्नो शक्ति विस्तार गर्न प्रयोग गर्यो ।
कम्युनिष्टहरू एकापसमा लडिरहँदा नेपाली कांग्रेस भने छद्म रूपमा आफ्नो कुटिल चाल चल्न व्यस्त रह्यो । यस पृष्ठभूमिमा नेपाली कांग्रेसले पाँच वटा गोटी चाल्नेतर्फ केन्द्रित भयो ।
पहिलो, नेकपा (माओवादी केन्द्र) लाई एमालेसँगको गठबन्धनमा पुग्न नदिने ।
दोस्रो, कांग्रेस भित्रको संस्थापन इतर शक्तिलाई गठबन्धन विरुद्ध उभ्याउने । यो रणनीतिले माओवादीको ‘बार्गेनिङ पावर’लाई रक्षात्मक बनाउथ्यो । शेखर–गगन समूह यो अभियानका अभियन्ता बन्न पुगे ।
तेस्रो, संस्थापन पक्ष स्पष्ट रूपमा गठबन्धनकै पक्षमा उभिने । यो कुराले माओवादीलाई थप आतंकित बन्नबाट रोक्थ्यो ।
चौथो, अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई आफू अनकूल परिचालन गर्ने । यस बारेमा विस्तृतमा अर्को उप शीर्षकमा विश्लेषण गरिनेछ । यसले नेपालको कम्युनिष्टलाई कमजोर बनाउन सजिलो हुन्थ्यो ।
पाँचौँ, जहाँ–जहाँ कांग्रेस कमजोर छ, त्यहाँ–त्यहाँ गठबन्धनको सहारामा जित्ने र जहाँ–जहाँ कांग्रेस बलियो छ, त्यहाँ–त्यहाँ एक्लै लड्ने वा त्यहाँको नेतृत्व गठबन्धनको भागमा परेमा आफ्ना उम्मेदवारलाई स्वतन्त्रबाट उठ्न लगाउने र जिताउने । यी पाँच आयामबाट गरेको नेपाली कांग्रेसको तयारीबारे नेपालका कम्युनिष्ट शक्तिले सम्भवतः कुनै भेउ पाउन सकेनन् र देश कम्युनिष्टमय भए पनि परिणाम भारी मात्रामा कांग्रेसको पक्षमा पुग्यो ।
नेकपा (एमाले) का आठ कमजोरी:
नेपाली कांग्रेसले छद्म रुपमा कुटिल चाल चालिरहदा अघिल्लो स्थानीय निर्वाचनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले गरेको दावी र प्रचार पुरा हुन सकेन । बिपक्षी शक्तिलाई कम्जोर मुल्यांकन गर्नु र तल्लो निकायसम्म नै सही सर्वेक्षणमा चुक्नु एमालेको पहिलो कमजोरी रहन गयो ।
२०७४ सालको स्थानीय निर्वाचनको बेलामा एमाले नेतृत्वले नाकाबन्दी बिरुद्ध देशको पक्षमा लिएको अडानले भावनात्मक रुपमा धेरै नेपालीको मन जितेको थियो । त्यो पृष्ठभूमिमा तटस्थ मत नेकपा (एमाले) को पक्षमा परेको थियो । तर अहिले अवस्था अलि भिन्न थियो । करिव दुई–तिहाईको सरकार पार्टी भित्रको चरम अन्तरसंघर्षको कारण पुरा अवधी चल्न नसकेपनि तत्कालिन नेकपाको नेतृत्वको हिसावले त्यसको अलि धेरै जस र अपजस एमाले अध्यक्ष केपी ओलीमा स्वतः आइहाल्थ्यो । बिपक्षीले पनि सोहि ढंगले चरम रुपमा घेराबन्दी गर्नु स्वाभाविक थियो । फलस्वरूप, आफू बलियो हुँदाहँुदै पनि नेपाली कांग्रेसभन्दा एमाले १२३ स्थानले सानो दल बन्न पुग्यो । यदि विपक्षीलाई कमजोर मूल्यांकन नगरी सही सर्वेक्षण गरेको भए एमालेको रणनीति निश्चय नै फरक हुन्थ्यो र त्यो परिणाममा पनि झल्किन सक्थ्यो ।
गठबन्धनको आन्तरिक तयारी र यसको सफलताका आधारहरूबारे भेउ नपाउनु नेकपा (एमाले) को दोस्रो कमजोरी हो । गठबन्धन शक्ति बीचको आन्तरिक कमजोरीको कारण धेरै मत बदर हुने र त्यसको भरपुर फाइदा एमालेलाई हुने भन्ने आँकलन कमजोर साबित भयो । एकातिर २०७४ सालको गठबन्धनको अभ्यास २०७९ सम्म आइपुग्दा थप समृद्ध र सबल भएको र अर्कातिर गठबन्धनप्रतिको एमाले दृष्टिकोण २०७४ सालकै जस्तो हुनु बीचको विरोधाभासमा एमाले फसेको देखियो । जति दल गठबन्धनमा सामेल भए पनि एमालेले एक्लै पराजित गर्छ भन्ने दाबी सही सर्वेक्षणको जगमा नहुनु पनि यसैसँग जोडिएको कमजोरी हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको रणनीतिमा बनेको महागठबन्धनलाई सजिलै अघि बढ्न दिनु नेकपा (एमाले) को तेस्रो कमजोरी बन्न पुग्यो । राजनीतिमा समकक्षी शक्तिलाई कमजोर तुल्याउन अनेक रणनीति र योजनाको खाँचो पर्छ । गठबन्धनलाई कमजोर मूल्यांकन गर्दा त्यस खालको रणनीति बनाउनेतर्फ ध्यान जान सकेन । फलस्वरूप, गठबन्धन सहज रूपमा अघि बढ्यो । जसले गर्दा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले झन्डै आधा ठाउँहरूमा गठबन्धनको कारणले जित हासिल गर्न सके ।
सही उम्मेदवार छनोट गर्ने प्रक्रियामा पनि नेकपा (एमाले) चुकेको देखियो । एमालेका काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखले प्राप्त गरेको मत संख्याले यसलाई पुष्टि गर्छ । महानगर र उपमहानगरपालिकामा प्रमुखका उम्मेदवारले पराजय व्यहोर्नु र उपप्रमुखले जित हासिल गर्नुले पार्टी उम्मेदवार छनोट प्रक्रियामा चुकेको देखियो । यो एमालेको चौथो कमजोरीको रूपमा रहन गयो ।
पूर्ववत जनप्रतिनीधिहरूको अलोकप्रिय कामले पनि एमाले दोस्रो हुनुको पाँचौ कमजोरी रहन गएको देखियो । जनताको मर्म र भावना मुताबिक काम गर्ने ठाउँहरूमा एमाले दोहोरिएर जित हासिल गरेको छ । तर जहाँ जहाँ जनप्रतिनिधिहरूले जनताको भावना तथा आफ्नै घोषणा अनुरूप काम गर्ने कुरामा कमजोरी गरे, ती ठाउँहरूमा एमाले पराजित भएको देखियो । त्यसैले, जितपछि आफ्ना जनप्रतिनिधिहरूलाई जनतासँग जोडिने, जनतासँगै काम गर्ने र उनीहरूको दिनानुदिन आइपर्ने समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने कुरामा गरिने प्रशिक्षण, प्रेरणा, अनुगमन, गल्ती गर्दा सचेत गराउने र त्यति गर्दा पनि गल्ती दोरोर्याइरहनेलाई उचित कारबाही गर्ने कुरामा कमी रहेको देखियो ।
चुनाव नजिकिँदै गर्दा देशैभर एमाले प्रवेशको लहर त चल्यो, तर त्यसको सही व्यवस्थापनमा कमी रहेको पनि देखियो । उम्मेदवार पाउने सर्तमा पार्टी प्रवेश गराउँदा उम्मेदवार बनाउन नसक्दा नवप्रवशीले तत्कालै दल त्याग गरेका घटनाक्रमले यसतर्फ संकेत गर्दछ । कतिपय ठाउँमा नवप्रवेशीलाई नै उम्मेद्वार बनाउँदा बर्षाँै वा दशकौं पार्टीमा योगदान गरेका नेता कार्यकर्ताहरूलाई चुनावको मुखमा आएर निस्क्रिय बनाइदियो । किन कि राजनीतिमा प्रेरणा सबैभन्दा ठूलो कुरा हो । प्रेरणा हराउँदा मानिस स्वतः निस्क्रिय भइहाल्छ, यसलाई पार्टीको कुनै पनि पद्धतीले रोक्न गाह्रो हुन्छ । त्यसैले चुनाव जित्ने गरी कदम चाल्नु त छँदै छ, त्यसमा अझै योगदान, त्याग र क्षमताको उचित मूल्यांकन गर्ने कुरामा कतिपय ठाउँहरूमा पार्टी चुकेको देखिन्छ, जुन एमालेको छैटौं कमजोरी बन्न पुगेको छ ।
मूल नेतृत्व तहमा त गुटबन्दी समाप्त भयो । पार्टी नेतृत्वका समकक्षी नेताहरूले अर्कै दल बनाएसँगै उच्च तहमा गुटबन्दी अन्त्य भएको देखियो तर दोस्रो पुस्ता, तेस्रो पुस्ता र कार्यकर्ताको तहमा गुटबन्दी खतरनाक रूपमा मौलाएको देखियो । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व निकट कैयौँ नेता–कार्यकर्ताहरू एमालेमै रहे । उनीहरूलाई एमालेप्रतिको अपनत्वको भावनालाई थप मजबुत बनाउन सकिएन कि जस्तो देखियो । एमालेमै रहेका तर यसअघि माधव नेपाल निकट रहेका नेता कार्यकर्ताहरूमा शुषुप्त रूपमा रहेको कमजोर मनोविज्ञानले कतिपय ठाउँहरूमा धक्का लागेको देखियो । त्यसैले, पार्टीभित्र सबै तह र तप्कामा हुने गुटबन्दी अन्त्य गर्नेतर्फ पार्टीको ध्यान नपुगेको देखियो, जसको परिणाम पोखरा, बुटवल, भरतपुर लगायतका ठाउँहरूमा देखियो । यो कुरा पार्टीको सातौँ कमजोरीको रूपमा रह्यो ।
दलले अब विचार गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको दलीय पद्धतिले गर्दा कुनै पनि दल निकट बन्न नसक्ने तर देशको निम्ति केही गर्ने हुटहुटी भएका समाज र राष्ट्रमा स्थापित व्यक्तिहरूलाई कसरी समेट्ने भन्ने विषय प्रधान बनेर आयो । हरेक स्वतन्त्र व्यक्तिलाई दलकै छातामुनि नहुँदासम्म उपयुक्त ठाउँ नदिने दलीय पद्धतिमा गम्भीरतापूर्वक हेरफेर गरिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ । काठमाडौँ र धरानले यो कुराको संकेत गरेको छ भने जनकपुर र धनगढीले जनतामा स्थापित व्यक्ति पार्टी त्याग गरेर स्वतन्त्र रूपमा चुनावमा जाँदा पनि जनताले जिताउँछन् भन्ने कुराको संकेत गरेको छ । यसबाट प्रष्ट हुन्छ कि सांगठानिक संरचना र दलीय निर्णयभन्दा जनताको शक्ति धेरै माथि हुन्छ र यस्तो शक्ति खास खास अवस्थामा मात्रै प्रकट हुने गर्दछ । यो खास अवस्थालाई दलहरूले समयमै सम्बोधन गर्न जरूरी देखिन्छ ।
नेकपा (एमाले) ले समाज र राष्ट्रमा स्थापित यस्ता स्वतन्त्र तर प्रभावशाली व्यक्तिहरूको पहिचान गर्न जरुरी थियो, जुन हुन सकेन । यो आठाँै कमजोरीको रूपमा रहन गयो । यावत् कमजोरी र भव्य चुनौतीका वाबजुद नेकपा (एमाले) पहिलोबाट सशक्त दोस्रो दलको रूपमा स्थापित भइरहन सक्नु एमालेको लागि विजयको विषय हो । कमजोरीबाट पाठ सिक्ने र जनतामा प्रभावशाली रूपमा स्थापित हुने हो भने फेरी आउने चुनावमा पहिलो दल बन्ने सम्भावनालाई नकार्न सकिँदैन ।
(लेखक नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्धका अनुसन्धानकर्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ११ : १२ बजे
प्रतिक्रिया