आन्तरिक हवाई उडानमा अत्यधिक चाप

 महिला सहभागिता अभिवृद्धि गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न सबैको सामूहिक क्रियाशीलताका लागि राष्ट्रपतिको आह्वान

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको राष्ट्रिय समृद्धि हासिल गर्न सबैको सामूहिक क्रियाशीलताका लागि आह्वान गर्नुभएको छ ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विभिन्न नीतिगत एवं कार्यक्रमिक प्रयासहरू हुँदाहुँदै लामो समयदेखि हाम्रो समाजमा विद्यमान पुरातन सोचका कारण महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा अझै पछाडि रहेको र संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा चुनौतीहरू कायमै रहेको पनि बताउनुभएको छ ।

“लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभिवृद्धिको परिणामस्वरूप संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिएपछि राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिला सहभागिता क्रमशः वृद्धि हुँदै गएको छ । एकतिहाई महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्गहरूका साथै राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने मैले ठानेको छु”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोतसाधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिन्छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको समान, अर्थपूर्ण र सम्मानजनक सहभागिता प्रत्याभूति गराउन पुरुष र महिला दुवैको सक्रिय भूमिका रहनु पर्दछ ।”

विसं २०६३ जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण गरिएको स्मरण गरिँदै आएको छ । यस वर्ष ‘महिला सम्मान: सभ्य समाजको पहिचान’ भन्ने मूल विषयका साथ विभिन्न कार्यक्रमहरूको आयोजना दिवस मनाइँदै छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ४४ बजे