आज वर्षाको सम्भावना

गठबन्धन सरकारले हावादारी बजेट ल्यायो : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको बताउनु भएको छ ।

उपाध्यक्ष पौडेल भन्नुभयो, ‘यो सरकारको म्याद पाँच महिनाको भए पनि ‘स्वर्ग पुर्‍याउने’ कुरा बजेटमा गरिएको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ ।’

यो सरकारले चुनावका लागि आवश्यक बजेट र नियमित खर्चको व्यवस्था भन्दा पर सोच्न नहुने उपाध्यक्ष पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सरकारले चुनावका लागि आवश्यक खर्च छुट्याएको छु, चालु आयोजनालाई निरन्तरता दिएको छ । दैनिक प्रशासनिक तर्फ आवश्यक बजेट व्यवस्था गरेको छु भन्नुपर्ने हो ।’

उपाध्यक्ष पौडेल भन्नुहुन्,  ‘मुलुक आर्थिक संकटमा छ । मुलुकलाई आर्थिक लयमा फर्काउने कुरा छोडेर कर्णाली नदी र कोशी नदी जोड्ने हावादारी कुरा गरेको छ ।’

वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, ८ प्रतिशत आर्थिक वृद्धिदर जस्ता हावादारी कुरा बजेटमा राखिएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘स्रोत र खर्चको व्यवस्था पनि हचुवा छ । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल छैन । प्राथमिकता भुलेको छ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ९ : १२ बजे