राजमार्गमा दृष्य एक, पीडा अनेक

तारा एयरको सम्पर्कविहीन विमान खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।  

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहीन बनेको थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरूलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिनुभयो । जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिनुभयो । 

सम्पर्क विहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ५८ बजे