राजमार्गमा दृष्य एक, पीडा अनेक

संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ । नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ ।

सरकारले  शनिवार सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ ।

नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ । 

मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐनअन्तर्गतका नियमावलीहरू जारी भएको छ । मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ जारी गरी यस आवदेखि पुरस्कार वितरणको सुरुआत गरिएको उल्लेख छ ।

प्रगति विवरणमा एकीकृत कानुनी सहायता नीति, २०७६ जारी भएको र पाँच वटा विधेयकको अवधारणा पत्रका सैद्धान्तिक सहमति तथा १० वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति प्रदान गरिएको, नियमावली, गठन आदेश, निर्देशिका गरी ३९ वटा कानुन मस्यौदा तर्जुमा तथा सहमति प्रदान गरिएको उल्लेख छ । 

न्याय सम्पादनमा अदालतमा हुने लामो अदालती प्रक्रियालाई छिटो र सरल बनाउन एक अध्ययन कार्यदल गठन गरी सो कार्यदलबाट प्रतिवेदनसमेत प्राप्त भइसकेको उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ८ : २५ बजे