बौद्धदर्शन र सञ्चार : युगीन भाष्य

यहाँ डा. बालकृष्ण चापागाईँको विद्यावारिधि शोध ग्रन्थमा आधारित ‘बौद्ध दर्शन र सञ्चार’ कृतिको सामान्य समीक्षा गर्ने जमर्को गरिएको छ । यसमा शोधकर्ताको व्यक्तित्व र कृतित्व दुवै पक्षको सामान्य चर्चा हुनेछ । 

डा.चापागाईँ वि.स.२०१८ सालमा भिरकोट नगरपालिका वडा नम्बर ९ आङवाङ (ठुली भन्ज्याङ) स्याङ्जा गण्डकी प्रदेशमा माता डिल्लीकुमारी चापागाईँको कोखबाट जन्मिनु भएको हो । हाल उहाँ बुटवल—४, लक्ष्मी नगरमा बस्नुहुन्छ । उहाँले २०७८ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन र सञ्चारमा विद्यावारिधि गर्नुभएको हो । उहाँले एम.ए.नेपाली (त्रिभुवन विश्व विद्यालय), एम.ए.आमसञ्चार तथा पत्रकारिता (त्रिभुवन विश्व विद्यालय) एलएलबी (त्रिभुवन विश्व विद्यालय) उत्तीर्ण गर्नुभएका चापागाईँ अधिवक्ता पनि हुनुहुन्छ । उहाँको पत्रकारी इतिहास लगभग ४५ वर्ष लामो छ । औपचारिक रूपमा २०३८ सालदेखि पत्रकारितामा लागेको देखिन्छ । लामो अभ्यासबाट आएको हुनाले भाषा, शैली, परिष्कृत छ । 

बालकृष्ण चापागाईँले बौद्ध धर्ममा आधारित शान्तिको सिद्धान्तलाई सञ्चार क्षेत्रसँग जोडेर शान्तिको महत्त्वलाई थप बल प्रदान गर्नका लागि यो विषय रोजेको देखिन्छ । विश्वविद्यालयले यस शेधलाई प्रामाणिकता प्रदान गरिसकेको हुनाले यसलाई महत्त्वका साथ लिन सकिन्छ । काठमाडौँमा भएको विमोचन समारोहमा यस शोध ग्रन्थका विषयमा वक्ताहरूले महत्त्वका साथ आफ्नो धारणा राखेका थिए । त्यसैले उनको कृतित्वको महिमा बढेको छ । 

डा.बालकृष्ण चापागाईँको प्रस्तुत अध्ययनको उद्देश्य बौद्ध दर्शन र सञ्चारको अन्तरसम्बन्धमा केन्द्रित भएको हुनाले बुद्धका विचार, चिन्तन र दर्शनको विकास एवं विस्तारमा सञ्चारको भूमिका के कस्तो थियो भनेर निष्कर्ष निकाल्नु हो । त्यो उद्देश्यलाई यस शोध पत्रमा यसरी राखिएको छ । बुद्धकालीन सञ्चारको प्रकाश पार्नु, बौद्ध दर्शनको विकासमा सञ्चारको भूमिका स्पष्ट पार्नु, विश्व शान्तिका लागि बौद्ध दर्शन र सञ्चारको भूमिका निर्क्योल गर्नु रहेको छ । 

शोध ग्रन्थको सैद्धान्तिक अवधारणा :
​​​​​​​शोध ग्रन्थ लेखन महत्त्वपूर्ण काम हो । शोध अनुसन्धान, खोज, अन्वेषण गवेषण आदि भनिन्छ । शोध वा अनुसन्धानलाई अङ्ग्रेजीमा रिसर्च भनिन्छ । शोध प्रतिवेदनलाई अङ्ग्रेजीमा थेसिस अर्थात् रिसर्च रिपोर्ट भनिन्छ । शोध खोज वा अनुसन्धान भइसकेपछि नयाँ कुराको प्राप्ति हुन्छ । 

‘बौद्ध दर्शन र सञ्चार’ ग्रन्थबारे केही विद्वानहरूको टिप्पणी:
शोधको विषयमा वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई भन्नुहुन्छ— “यस ग्रन्थमा बौद्ध दर्शन र सञ्चारको अन्तरसम्बन्ध, विषयवस्तुको ऐतिहासिक सन्दर्भ, सैद्धान्तिक अवधारणा, गौतम बुद्धको परिचय, बुद्धकालीन सञ्चारको अवस्था, बौद्ध दर्शनको विकासमा सञ्चारको भूमिका, विश्वशान्तिका लागि बौद्ध दर्शन र सञ्चारको भूमिका, उपसंहार, निष्कर्ष एवं सुझावमा कृतिका मुख्य अंश समेटिएकाले यो निकै गहकिलो र पठनीय बन्न पुगेको छ ।”

संस्कृतिविद् प्रा.डा. गीतु गिरीको भनाइ छ— “बौद्ध दर्शन शास्वत जीवन दर्शनको रूपमा विकसित भएको छ, यसलाई बौद्ध साहित्यको विश्लेषणबाट निकटता देखाइएको यो पुस्तक अनुसन्धानमा आधारित छ ।”

डा.सुरेन्द्रमान बज्राचार्यले भन्नुभएको छ— “बौद्ध दर्शन र सञ्चार शीर्षकको पुस्तक बौद्ध धर्म दर्शन र सञ्चार बीचको पारस्परिक सम्बन्धका विभिन्न आयाम र सन्दर्भहरूको अध्ययन अनुसन्धान गरी नेपालमा पहिलो पटक प्रकाशित महत्त्वपूर्ण कृतिका रूपमा देखा परेको छ ।”

सहप्राध्यापक ऋषिराम भुसालले भन्नुभएको छ— “पत्रकारिता भाषा र दर्शन सम्बन्धी विभिन्न पुस्तक प्रकाशित गरिसक्नुभएका उहाँले अहिले बौद्ध दर्शन र सञ्चारमा केन्द्रित रहेर गहन र फराकिलो विषयमा कलम चलाउनुभएको छ ।”

वरिष्ठ आख्यानकार जङ्गबहादुर शाहको भनाइ रहेको छ— “डाक्टर सा’बले यस शोध ग्रन्थको अङ्ग्रेजी अनुवाद पनि गराउन आवश्यक छ । यो थेसिस अङ्ग्रेजीमा अनुवाद भएपछि यसलाई धेरैले पढ्नेछन् । र, शोधकर्ताले देशबाहिर पनि प्रसिद्धि पाउनु हुनेछ । यसलाई विश्वभरका पाठकले पढ्न पाउने गरी विभिन्न भाषामा प्रकाशित गर्नु आवश्यक छ ।” 

पुस्तकको अन्तरदीप्तिको प्रकाश:
डा. बालकृष्ण चापागाईँले यस ग्रन्थमा संक्षेपकृत शब्द सूची दिनु भएको छ । अनारिका, चार महाभूत, तथागत बुद्ध, पञ्च अभिज्ञान र पञ्चज्ञान, पर्णकुटी, प्रतीत्यसमुत्पाद, वर्षावास, महायान, बज्रयान, हीनयान लगायत थुप्रै पाली शब्दहरूको अर्थ स्पष्ट पारिएको छ । यसबाट पुस्तकमा पढ्न र गढ्न सहज भएको छ । 

यस ग्रन्थको खण्ड एकमा बौद्ध दर्शन र सञ्चारको विषयमा लेखिएको छ । यसमा सञ्चार सिद्धान्तलाई विकास क्रमकै आधारमा हेरिनु पर्ने भन्दै यसको खोज, उद्देश्य औचित्य, सीमा, रूपरेखाको विषयमा उल्लेख गरिएको छ ।  

खण्ड दुईमा १० पृष्ठदेखि ५६ पृष्ठसम्म ऐतिहासिक सन्दर्भ उल्लेख छ । यसमा दर्शन दिग्दर्शन, नेपालमा बौद्ध धर्म, बौद्ध धर्मको सामान्य परिचय, बुद्ध र बुद्धवाद, बौद्ध दर्शन, सम्यक् सम्बुद्ध, हिमाली क्षेत्रमा बौद्ध परम्परा, लुम्बिनीको इतिहास, बुद्ध दर्शन र धर्म, बुद्धवादका तीन आयाम लगायतका विषयवस्तुहरू समेटिएका छन् । 

खण्ड तीनको ५७ देखि ६२ पृष्ठसम्म सैद्धान्तिक अवधारणा पस्किएको छ । खण्ड चारको ६२ पृष्ठदेखि १ सय २७ पृष्ठसम्म विस्तार भएको छ । यस खण्डमा बुद्ध शब्दको अर्थ र परिभाषा, सिद्धार्थको पारिवारिक पृष्ठभूमि, जन्म, नामकरण, सिद्धार्थको अहिंसावादी सोच, सिद्धार्थको वैवाहिक जीवन, सिद्धार्थको गृह त्याग, ज्ञान प्राप्तिको अभ्यासमा सिद्धार्थ, सिद्धार्थलाई बुद्धत्व प्राप्ति, गौतम बुद्ध उपदेश मार्गमा, गौतम बुद्ध र शुद्धोदनको भेट, गौतम बुद्धको महापरिनिर्वाण, मैत्री र शान्ति खोजले बुद्धको विषयमा चर्चा गर्दै अन्तरमुखी सञ्चार, अन्तर वैयक्तिक सञ्चार, समूह सञ्चारको विषयमा उल्लेख छ । यस खण्डमा सञ्चार सम्बन्धी बुद्धको अवधारण उल्लेख छ । यसमा सत्यप्रति अनवरत खोजी सञ्चार, चार आर्यसत्य र अष्टाङ्गिक मार्गको सञ्चार, पीडाबाट मुक्ति र आनन्दको सञ्चार, बुद्धको मौन सञ्चार: विपश्यना योग, प्रभावकारी मौखिक सञ्चार, नवीनतम मौलिक अभिव्यक्ति, न्याय र समानताको सञ्चार आदिको विस्तार गरिएको छ । सञ्चारमा बुद्धकालीन सञ्चार पद्धतिहरूको राम्रो विश्लेषण गरिएको छ । 

खण्ड ५ मा १ सय २८ पृष्ठसम्म फैलिएको छ । यस खण्डमा बौद्ध दर्शनको विकासमा सञ्चारको व्याख्या छ । यसमा चार आर्यसत्यमा पहिलो आर्यसत्य, दोस्रो आर्यसत्य, तेस्रो आर्यसत्य, चौथो आर्यसत्यको व्याख्या छ । त्यसरी नै यसमा आर्य अष्टाङ्गिक मार्गको पनि व्याख्या गरिएको छ । अष्टाङ्गिक मार्गका संयक सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधिको वर्णन छ । यसमा पारमिताको व्याख्या पनि छ । यसमा दान पारमीता, शील पारमीता, क्षान्ति पारमीता, वीर्य पारमीता, ध्यान पारमीता, प्रज्ञा पारमीता, बल पारमीता, उपाय पारमीता, पणिधान पारमीता, ज्ञान पारमीताको विषयमा बताइएको छ । यी नै बुद्ध दर्शन र धर्मका महत्त्वपूर्ण व्यवहारिक उपलब्धि हुन् । बुद्ध दर्शनको दार्शनिक विचारहरूमा मध्यम प्रतिपद मार्ग, प्रतित्यसमुत्पादको वर्णन छ । बौद्ध दर्शनका त्रिलक्षण, अनात्मवाद, अनिश्वरवाद, अभौतिकवादको चर्चा छ । यस खण्डामा बुद्ध दर्शनको विकास क्रम, बौद्ध दर्शनका प्रमुख मतको व्याख्या गरिएको छ ।  हीनयान, महायान, बज्रयान सम्प्रदायको व्याख्या छ । यान साहित्य र बौद्ध सञ्चार, बुद्ध दर्शन सङ्काय र सञ्चारको व्याख्यान पनि छ । 

खण्ड छ १ सय २८ देखि २ सय २० पृष्ठसम्म फैलिएको छ ।  विश्व शान्तिको लागि बौद्ध दर्शन र सञ्चारको व्याख्या छ । यस खण्डमा विश्वशान्ति र सञ्चार, सञ्चारका सिद्धान्त, शान्ति र बुद्धत्व, विश्व शान्तिको आधार, विश्व शान्तिको प्रयास, विश्वशान्ति र बौद्ध सञ्चार आदिको विषयमा उल्लेख छ । यसमा विश्व शान्तिमा बौद्ध दर्शनको प्रभाव र सञ्चारको भूमिकाको विषयमा उल्लेख छ । यो नै लेखकको मूल भाग हो । 

खण्ड सात २ सय ९४ पृष्ठसम्म फैलिएको छ । यसमा निष्कर्ष एवं सुझाव छ । खण्ड ८ मा ३ सय ९ पृष्टसम्म छ । कृतिको मुख्य अंशमा समस्या, उद्देश्यको प्रकाश पार्दै सबै खण्डहरूको सारमा टेकेर उपलब्धिको चर्चा गरिएको छ ।  

अन्त्यमा लेखकले आफ्नो शोध ग्रन्थको तयारीको लागि अध्ययन गरेका नेपाली र अङ्ग्रेजीका भाषाका सयौँ सन्दर्भ सामाग्रीहरू विवरण प्रस्तुत गरेका छन् । 

कृतिको ओजस्विता कृतिमा प्रयुक्त विशिष्ट भाषिक शैली, सरलता, सरसता, अलङ्कार, प्रतीक र बिम्बहरू आदिले सजिएर आएको भाषिक कलाले हो । शोध ग्रन्थमा विवरणात्मक भाषा हुने भएकोले कलात्मकता अलि कम छ । यस्तो हुनु स्वाभाविकै हो । निश्चय नै बुद्धको सञ्चार क्षमताको विलक्षण प्रतिभाको चर्चा छ । बौद्ध साहित्यमा साहित्यमा महत्त्वपूर्ण कलात्मक कृति होलान् । बुद्धको मौखिक सञ्चार पनि निकै गहकिला, कलात्मक र प्रभावकारी भएको उल्लेख छ । जसरी होस् प्रभावकारी सम्प्रेषण आवश्यक हो । शोध ग्रन्थको भाषा शुष्क नै हुनु पर्छ भने हैन, तर वर्णन र विवरणको भाषा औपचारिक नै हुन्छ । शोधपरक संरचनामा व्यवस्थित भएर आउँदा ज्यादा औपचारिकता हुनु स्वाभाविक हो । तर पनि भाषा पढिरहूँ जस्तो छ । यो कृति पढिरहँदा विचारसँग मिलेर नरिवलको मीठो स्वाद पाएजस्तो लाग्छ । पुस्तकको आवरण, डिजाइन, बाइन्डिङ, सबै राम्रो छ । 

प्रकाशन सहकार्यमा लुम्बिनी वाङमय प्रतिष्ठान, लुम्बिनी प्रदेश, बुटवल, मिडिया प्रकाशन प्रा.लि., हाइटेक अफसेट प्रकाशन प्रा.लि.ले उच्चस्तरको कृति पस्केर शान्तिको लागि सञ्चार सिद्धान्त प्रकाशन गरेर महत्त्वपूर्ण काम गरेको छ । 

यस पुस्तकमा रमणीय संसारमा जन्म दिएर जीवनलाई मङ्गलमय र सार्थक बनाउने आफ्ना माता—पिताप्रति भक्ति र समर्पण छ । तीन सय अट्ठाइस पृष्ठमा फैलिएको यो कृति सञ्चार जगतका लागि आवश्यक त छँदैछ, सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक छ । 

शोधकर्ता चापागाईँसँग विभिन्न क्षेत्रको अनुभव रहेको छ । यी अनुभवहरूले पनि वहाँको यस कृतिलाई सुन्दर र सार्थक बनाउन भूमिका खेलेकै हुनु पर्दछ । शोधकर्ता लेखकसँग राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष र प्रेस चौतारी नेपालको दुई कार्यकालसम्म केन्द्रीय अध्यक्ष भएर काम गरेको अनुभव छ । उच्चस्तरीय मिडिया सुझाव आयोग २०६३ मा सूचना हक सम्बन्धी विधेयक मस्यौदा कार्यदलमा सदस्य, श्रमजीवी पत्रकार ऐन संशोधन मस्यौदा कार्यदल २०६४ का सदस्य, कान्ति मावि बुटवलका पूर्व अध्यक्ष, मलमला रेडियो प्रालिका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका संस्थापक अध्यक्ष, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय सदस्य रहेर गरेका काम गरेका अनुभव छन् । वहाँले थुप्रै सम्मान तथा पुरस्कारहरू  प्राप्त गर्नुभएको छ । ती पुरस्कारहरूमा उत्कृष्ट पत्रकारिता पुरस्कार २०५२, तन्नेरी प्रतिभा सम्मान पुरस्कार २०६०, भ्रष्टाचार विरुद्धको अभियानमा सम्मान पुरस्कार २०६१, गोपाल दास पत्रकारिता पुरस्कार (२०७४), रिपोर्ट्स क्लब नेपाल, लुम्बिनी प्रदेशबाट सम्मानित (२०७७), प्रबल जनसेवाश्री पदवीबाट सम्मानित २०७८ आदि हुन् । 

डा. बालकृष्ण चापागाईँका प्रकाशित कृतिहरू आमसञ्चार तथा नेपाली भाषा (अनुसन्धनात्मक कृति २०६५), पत्रकारितामा लुम्बिनी (अनुसन्धनात्मक कृति) हुन् । बौद्ध दर्शन र सञ्चार पछिल्लो कृति हो । 

विद्यावारिधि शोधपत्रको शीर्षकको छानबिन उनले आफ्नो कर्मरेखा भित्रैबाट गरेका छन् । सञ्चार क्षेत्रका विज्ञ भएको हुनाले उनले बौद्ध दर्शन र सञ्चार शीर्षक राखेका हुन् । विश्वमा विभिन्न राजनीतिक प्रणालीहरू छन् । ती राजनीतिक प्रणाली अनुसारका सिद्धान्तहरू छन् । निरङ्कुशवादी राज्य प्रणाली भएको मुलुकको सञ्चार प्रणाली तदनुसारको हुन्छ । उदार राजनीतिक प्रणाली भएको मुलुकको सञ्चार प्रणाली उदारवादी प्रकृतिको हुन्छ । 

लोककल्याणकारी राज्य व्यवस्था भएको मुलुकको सञ्चार प्रणाली सामाजिक उत्तरदायित्वको सिद्धान्त र साम्यवादी सिद्धान्त भएको मुलुकमा साम्यवादी सञ्चार सिद्धान्त भनी परिभाषित गरिएको थियो । सञ्चार प्रणालीको विश्वव्यापी सिद्धान्त बन्न सकेको थिएन । अहिले विश्वमा सहअस्तित्व, समानता, स्वतन्त्रता र भाइचारामा आधारित लोकतान्त्रिक प्रणालीमा आधारित विश्वव्यापी सिद्धान्तको विकास भएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ४७ बजे