काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘‘द बास्केट’ले पहिलो बनेको छ ।
चलचित्र विकास बोर्डमा शुक्रवार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले दुई लाख नगदसहित पुरस्कार जितेको हो ।
प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये २० फिल्मलाई दर्शकले मत दिन पाउने गरी आयोजकले सामाजिक सञ्जालमा राखेका थिए । यही आधारमा दर्शकको ५० प्रतिशत अङ्क भार र जुरीको ५० अङ्क भार जोडी चार विजेता छनोट गरिएको हो ।
२० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्त्वनामा चित्त बुझाएको थियो ।
उनीहरूले क्रमशः १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।
निर्देशक समाज र युनडीपीले जात प्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।
प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणीन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल हुनुहुन्थ्यो ।
प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ८ : ५२ बजे
प्रतिक्रिया