राजमार्गमा दृष्य एक, पीडा अनेक

सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन 

बारा । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । 

सत्तारुढ पाँच दलीय गठबन्धन दल मध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्त्वाकाङ्क्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति विरोध गरिएको माओवादी केन्द्रका सपिम खरेलले बताउनुभयो । 

निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मुलुकको भाग्य र भविष्य उज्ज्वल हुने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकाङ्क्षी योजनामा सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा सेटिडमा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाउनुभएको छ ।

दंगालले भारतको इसारामा अदालतले गैर जिम्मेवारी प्रदर्शन गरेर न्यायालयको बदनाम गर्ने कार्य गरेको आरोप लगाउनुभयो। 

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधि शास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो । 

निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ०६ बजे