आज वर्षाको सम्भावना

अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ : अध्यक्ष ओली

​​​​​​​कांग्रेसको नीति भनेको सत्तामा पुग्नु मात्र हो, उस्को कार्यक्रम भनेको सत्ता टिकाउने मात्र हो 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले कांग्रेसले अर्काको गुडमा अण्डा पारेर कोरल्ने गरेको बताउनुभएको छ । 
विहीबार प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको र उस्ले सुरुमा आफैले विरोध गरेका ऐजेण्डाहरु पछि आफ्नो नीति तथा कार्यक्रममा ल्याउने गरेको बताउनुभयो । 
ओलीले भन्नुभयो, ‘कांग्रेसले सुरुमा अन्य राजनीतिक दलहरूका सिद्धान्त, नीति, कार्यक्रम र एजेन्डाहरूको चर्को विरोध गर्ने, प्रतिवाद गर्ने, अस्वीकार गर्ने र पछि केही समयको बीचमा मौका छोपेर तिनै सिद्धान्त, नीति, कार्यक्रम र एजेण्डाबाट लाभ लिने  गरेको छ।’
ओलीले कांग्रेसले आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने, अनुचित सहारा लिएर सत्ताभोगका लागि अनुकूल इकोसिस्टम तयार गर्ने गरेको बताउनुभयो । उहाँले यो कांग्रेसको खान्दानी सिद्धान्त भएको बताउनुभयो । उहाले भन्नुभयो,‘अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै छ । अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ । यो हाम्रो इतिहासको वास्तविकता हो ।’

ओलीले नेपाली कांग्रेस सत्ताभोगमा मात्र लागेको र उ सँग कुनै विचार, सिद्घान्त र कार्यक्रम नभएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘अब सूर्यजस्तै छर्लंग भएको छ कि नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति छैन । कार्यक्रम छैन, भिजन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य, सन्तव्य केही छैन,’ ओलीले भन्नुभयो, ‘यतिमात्रै होइन कांग्रेसँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँट पनि छैन । विरोध गरिन्ज्याल गर्ने, हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।’
एमालेले ल्याएका नीति तथा कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रमबाट हटाउन ओलीले चुनौती दिनुभयो । 
 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : २८ बजे