आज वर्षाको सम्भावना

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह 

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै अध्यक्ष ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको हो । 

‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्त रूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्मानीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) संयुक्त प्रतिवेदन हो त्यो, सहमतिको प्रतिवेदन हो, मतभेद छैन ।’ 

नेपाल र भारत सरकारले संयुक्त रूपमा नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीले आग्रह गर्नुभएको थियो । उक्त प्रतिवेदन दुवै देशका सरकारले हालसम्म बुझेका छैनन् । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : ०९ बजे