आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हर्क साम्पाङले जितेको धरानको नगर सभामा एमालेको बहुमत

काठमाडौँ । स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले मेयरमा जित्नुभएको धरान उपमहानगरपालिकाको नगर सभामा एमाले एक्लैको बहुमत देखिएको छ।

२० वटा वडा रहेको उपमहानगरपालिकाको नगर सभामा सम्पूर्ण वडाबाट मतदान गर्ने जनप्रतिनिधि १०२ जना छन्। तीमध्ये ५६ जनप्रतिनिधि एमालेले जितेको छ  । यो सङ्ख्या नगर सभाका लागि बहुमत हो।

२०७४ मा मेयर र उपमेयरसहित १४ वटा वडा जित्दै एमालेले नगर सभामा झन्डै दुई तिहाइ बहुमत पुर्‍याएको थियो। नगर सभामा १०२ जनामध्ये ७१ जना एमालेको थियो। त्यसैको आडमा कार्यपालिकामा पनि थप ८ जना एमालेकै उम्मेदवार विजयी भएर दुई तिहाइ अर्थात् ३० जनामा २४ जना एमालेका कार्यपालिका सदस्य हुनुहुन्थ्यो । 

यस पटकको निर्वाचनमा एमाले आठ वटा वडामा मात्रै सीमित भएन, मेयर र उपमेयरसमेत गुमायो। नगर सभाका लागि प्रत्येक वडामा निर्वाचित वडाध्यक्ष, वडा सदस्य, खुला वडा सदस्य, महिला सदस्य र दलित सदस्य समावेश हुन्छन्। समावेश भएका प्रतिनिधिहरूले नगर सभा गठन गर्छन्। त्यसपश्चात् मतदानमार्फत दुई सदस्य थप हुन्छन्, जसलाई अल्पसङ्ख्यक र दलित समुदायबाट चुनेर ल्याउनुपर्ने संविधानमा उल्लेख छ। नगर सभाका प्रतिनिधि र उनीहरूले छानेका दुई प्रतिनिधिसहित नगरको कार्यपालिका गठन हुन्छ।

धरान उपमहानगरपालिकामा एमालेका ५६ प्रतिनिधि विभिन्न वडामा निर्वाचित भएका कारण त्यहाँ एमालेको बहुमतमा नगर सभा निर्माण हुने देखिन्छ। धरानका कूल १०२ प्रतिनिधिमध्ये काँग्रेस र माओवादीका ४३ प्रतिनिधि छन् भने राप्रपा र स्वतन्त्रतर्फबाट १/ १ उम्मेदवार छन्।

कार्यपालिकामा कसको होला बहुमत 
​​​​​​​अहिले मेयर, उपमेयर र २० वटा वडाको मात्र निर्वाचन मत परिणाम हेर्दा कार्यपालिकामा कसैको पनि बहुमत पुगेको छैन। कार्यपालिकामा मेयर, उपमेयर र वडाध्यक्षहरू हुन्छन्।

अहिले मेयर स्वतन्त्रबाट निर्वाचित भएका छन्। एमालेबाट ८ जना अध्यक्ष निर्वाचित छन्। काङ्ग्रेसबाट ६ जना वडाध्यक्ष छन् भने माओवादीबाट उपमेयर र एक जना वडाध्यक्ष छन् । एक जना वडाध्यक्ष राप्रपा र एक जना स्वतन्त्र छन्।

अब ८ जना कार्यपालिका सदस्यहरूको निर्वाचन भएपछि भने कार्यपालिकामा पनि कसको बहुमत पुग्छ भन्ने प्रष्ट देखिन्छ। ती ८ कार्यपालिका सदस्यहरूलाई नगर सभाले निर्वाचित गर्ने र नगर सभामा एमालेको बहुमत भएकोले एमालेबाटै निर्वाचित हुन सक्ने सम्भावना देखिन्छ। त्यसो हुँदा ३० जनाको कार्यपालिकामा एमालेको १८ जना भएमा बहुमत पुग्छ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : १२ बजे