‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालको राजनीतिका दुई शक्ति र सचेत नेपाली मतदाता

पुँजीवादी धार र वामपन्थी धार नेपालको वस्तुगत जनधार हो । यी धारहरू कसैले किस्तीमा राखेर दान दिएका होइनन्, रैतीबाट नागरिक हुने सङ्घर्षका उपज हुन् । विश्व पुँजीवादी धारका नेपाली संस्करणको नेतृत्व गरेको नेपाली काँग्रेस सुरुदेखि कम्युनिस्ट निषेधको नीतिमा थियो । यो निषेधको राजनीति नेपाली काँग्रेसले २००७ सालको क्रान्ति लगत्तै प्रतिबन्ध लगाएर कार्यान्वयन थालेको थियो । श्रमजीवीका जनजीविका र इज्जतका लागि उठेका आन्दोलनलाई सरकारमा रहेर दमन गरेको थियो । २०१७ सालमा राजाले निर्वाचित संसद् विघटन गरेको अवस्थामा पुष्पलालले मिलेर संसद् पुनर्स्थापनाका लागि आन्दोलन गरौँ भन्दा समेत राजाको लात खाँदै राजतन्त्रको पक्षपोषण गरेको थियो । राजासँग घाँटी जोड्ने र कम्युनिष्टसँग छुवाछुतको व्यवहार गर्दै आएको यही नेपाली काँग्रेस हो । 

पुष्पलालको संयुक्त आन्दोलनको नीति अङ्गीकार नगरी अनुनय विनयले राजाको निरङ्कुश पञ्चायत नढल्ने कुरा बुझ्न काँग्रेसमा नयाँ नेतृत्वको प्रतीक्षा गर्नु परेको तथ्य जगजाहेर छ । यता जन पक्षीय विजेताहरू राजाको राष्ट्रिय पञ्चायतभित्रै पसेर भन्डाफोर गरी र बहुदलको पक्षमा आवाज उठाएर वाम खेमाले प्रतिबन्धित अवस्थामै आफ्नो जनाधार बनाएको थियो ।

पुष्पलालको विरासतलाई मदन भण्डारीको सही नेतृत्वमा २०४६ सालको संयुक्त जनआन्दोलनले पुनः बहुदलीय नेपाल बनेको हो । २०४८ को आम चुनावमा काँग्रेसको चरम धाँधलीका बाबजुद ६९ सिटमा जित हासिल गरेर नेकपा एमालेले वाम जनमतलाई राष्ट्रिय मूलधारमा ल्याएको थियो ।

नेपाली मतदातालाई मदन भण्डारीको जनताको बहुदलीय जनवाद(जबज)ले व्यापक रूपमा आफूतिर तान्न सकेको हो । २०५० जेठमा दास ढुङ्गामा मदन र जीवराजको निधनले ठुलो धक्काका बाबजुद जनमानसमा जबजको प्रभाव गहिरो गरी परेको थियो । उता पञ्चायत ढलेपछि पनि नेपाली काँग्रेसले जमिन्दार र ठुला पुँजीपतिको हितमा आफूलाई केन्द्रित गरिरह्यो । देशमा उद्योग बढाएर नागरिकलाई रोजगारी दिनेभन्दा वैदेशिक रोजगारीमा जोड दिन थाल्यो । अझ ऊ पार्टीको आन्तरिक कलहमै बढी रोमलिन थाल्यो । यसै दौरानमा  २०५२ सालमा पहिलो पटक मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको सरकार बन्यो । यसले संसारमा नेपालमा वामपक्ष स्थायी जन पक्षीय शक्ति रहेको खुलासा भयो ।शान्तिपूर्ण बाटोमा क्रियाशील राजनैतिक धारहरू क्रमशः दुई धारमा स्थापित देखिन्छन् । मतदाताको तहमा २०४६ सालदेखि देखा पर्न थालेका हुन् । 

१.वी पी कोइरालाको प्रजातान्त्रिक समाजवाद र 
​​​​​​​२. मदन भण्डारीले जनताको बहुदलीय जनवादका रूपमा पुनः परिभाषित गरेको पुष्पलालको नयाँ जनवादको धार । 

नेपाली जनताको राजनीति मूल रूपमा यी दुई विचार धारामा गोलबन्द र परिलक्षित रहेको देखिन्छ । संविधान बनाउँदा होस् कि सङ्घीयता कार्यान्वयन गर्दा होस्, हिंसावाद र पृथकतावादलाई नेपाली मतदाताले मन पराएनन् र निषेध गरे ।  विचार विनाको राजनीति दीर्घकालीन र टिकाउ नुहुने प्रष्ट छ । बिपीको प्रजातान्त्रिक समाजवादलाई घोषित बाटोमा ल्याउन त्यहीँभित्र सङ्घर्ष जारी रहेको छ भने मदन भण्डारीको बहुदलीय जनवादका  विपक्षीहरूले भिन्दै पार्टी बनाइसकेका छन् । अलमलमा परेकाहरू आफ्नो कित्तामा पुग्ने उभिने क्रम जारी छ । 

वाम खेमाका मूलधारभित्र व्यक्तिलाई तह लगाउने उन्मादमा आफूलाई अब्बल जबज पक्षधर भनिनेहरू समेत अहिले निष्ठाकासाथ रहने कि जबज परित्याग गर्ने नैतिक दबाबमा परेको अनुमान सहजै गर्न सकिन्छ ।

नेपालको राजनीतिलाई अगाडि बढाउने र चलाउने एमाले र नेपाली काँग्रेस हुन् । मदन भण्डारीको जबज र बिपीको समाजवाद यहाँका धरातलीय दुई शक्ति हुन् । यिनीहरू दुवै एक सिक्काका दुई पाटा भएका छन् । यिनीहरूको प्रतिस्पर्धात्मक सम्बन्ध नेपालको अनिवार्य र अपरिहार्य आवश्यकता हो । देशका साझा सवालमा मिलेर समाधान गर्ने र आवधिक निर्वाचनमा जनादेश लिएर एउटाले सरकार चलाउने र अर्काले प्रतिपक्षको भूमिकामा रहनु मुलुकको हितमा हुने कुरा प्रष्ट देखिन्छ । जनहितका साझा मुद्दामा सर्वपक्षीय धारणा बुझेर काम गर्न सहमत हुनु जरुरी छ ।

कसैले पनि मतदातालाई अलमलमा पार्न हुँदैन । मूलधारका एमाले र काँग्रेसले राजनैतिक सिद्धान्त गन्जागोल पार्नु झनै हुँदैन, बुझिने गरी देखिनुपर्छ, सुनिनुपर्छ । राजनैतिक पार्टीहरूको आफ्नो पहिचान र अरू पार्टीभन्दा के कुरामा र किन फरक छ भन्ने स्पष्ट देखिनुपर्दछ । उसलाई चिनेर उसको पक्षमा उभिने त्यस पार्टीको सदस्यता लिने हुनुपर्दछ । निर्वाचनमा उसले अघि सारेको योजनाको पक्षमा वा विपक्षमा मतदाताले स्वतन्त्र ढङ्गले मतदान गर्न पाउनुपर्दछ ।

हामीले चाहेर पनि नेपालमा तीन वटा राजनैतिक मूलधार बनेनन् । २०६२/०६३ मा प्रतिपक्ष बराबरीको सङ्ख्यामा प्रतिनिधि सभामा हिंसाबाट आएकालाई मिसायौँ । त्यसले जातीय विभेद चर्काउने, सेनामा सुँढ घुसार्ने, राष्ट्रपतिको चुनावमा छलछाम गर्ने, संविधान नबनाईकनै संविधान सभा विघटन गर्ने जस्ता  गैर जिम्मेवारपन देखाएको कुरा जगजाहेर छ । मूलधारमा रहेका काँग्रेस र एमालेले हिंसावादीलाई काखी च्याप्ने काम आलो पालो गर्दा देशका लागि प्रत्युत्पादक बनिरहेको छ । हिंसा र पृथकतालाई रूपान्तरण गरेर मूलधारका सहयोगी बनाउने हो । त्यसलाई काँधेकुरी हालेर हतियारको रूपमा दोस्रो शक्ति बनाउने झुटो आश्वासन दिनु देशकै लागि आत्मघाती काम हुनेछ । यस्तो काम धरातलीय यथार्थ विपरीत हुने छ ।

नेपाली समाजको विकासमा खास बाधक जनहत्याको स्कुलिङ नछाडेको तत्त्व र जातीय विभेद गर्ने र बढवा दिने पृथकतावादी प्रवृत्ति हो । यी दुवै प्रवृत्ति घातक रहँदै आएका छन् । मूलधारका पक्ष र प्रतिपक्षले समाजमा हिंसा र घृणा फैलाउने मानवअधिकार विरोधीहरूलाई निगरानीमा राख्नुको साटो चुनाव जित्ने औजार बनाउने कुराको आलोचना हुँदै आएको छ । मूलधारका पार्टीहरूले चरित्रवान् र सक्षम उम्मेदवारी दिन नसकेको गुनासो नागरिक तह र  अन्तर पार्टी बागी उम्मेदवारीबाट प्रकट भएको छ । राम्रा मान्छेलाई पाखा लगाउँदै आफ्ना कोटरीका मान्छेलाई टीका लगाउने जस्ता  अस्वस्थ प्रवृत्ति त्याज्य र निन्दनीय रहेको छ ।

२०५२ सालमा जन पक्षीय कामले एमालेको अल्पमतको सरकार लोकप्रिय हुने खतरा महसुस गरेर त्यसलाई ढालेर काँग्रेसको सरकारले दमनको जनविरोधी काम गर्न थाल्यो । कम्युनिष्ट समर्थक समेतलाई अनेक मुद्दा थोपर्ने, दमन गर्ने उसको नीतिका कारण जनअसन्तोष बढेको मौका छोपेर माओवादीहरूले चर्चित ५२ बूँदे माग पत्र सरकालाई दिए । माओवादीहरू जनबलमा विश्वास गर्दैनथे । त्यसैले अल्टिमेटमको दिन आउनु अघि नै हिंसात्मक युद्ध सुरु गरेका थिए । दश वर्षे जनहत्याको कारणमा यसरी काँग्रेसी सरकारसमेत जिम्मेवार थियो ।  यी दुवैले देशमा युद्ध थोपरेर नेपाली समाजलाई विभाजन, विध्वंस गरी पछाडि धकेल्ने काम गरे । मुक्तिका सपना बाँडेर जनहत्याको सास्ती दिने कुरालाई क्षमा याचनाको साटो “महान्……युद्ध” को गाथा गाउँदै देशलाई अस्थिरतामा गाँजिरहने माओवादी केन्द्रको नीति कायमै रहेको देखिन्छ ।  

कुनै पनि राजनीतिक पार्टी उसको सैद्धान्तिक पहिचान र सुसङ्गत साङ्गठनिक नीतिले चल्छ । जनतामा भ्रमको अवधि बढाइरहन सधैँ सम्भव हुँदैन । २०६४ को मत परिणाम एउटा खहरे थियो भन्ने अब भनिरहन नपर्ला । त्यतिखेर माओवादीले जनहत्याको त्रासमा परेका र क्षणिक उन्मादमा रमाएकाहरूको भेल हात पारेको थियो । यथार्थमा ऊ पहिलो हुने त कुरै भएन, अहिलेसम्म माओवादी दोस्रो हुन पनि सकेको छैन । 

माओवादीले एमालेमा छिरेर त्यसलाई सक्दो बिथोलेर पार्टीभित्रका जबज विरोधीलाई अलग्याएको भए पनि लटपटिएर गएका जबज पक्षधरहरू मूलधार एमालेमा फर्कने कुरा निश्चित छ । माओवादी आफैले बोकेका काँग्रेससँग भीख माग्दा समेत दोस्रो हुने ल्याकत नहुनेले वाम मूलधारको नेतृत्व गर्ने त सम्भवै देखिँदैन ।

प्रचण्ड—माधव—जेएनको समस्या केपी ओली  होइन । ओलीले संसद् विघटन गरेको समस्या पनि हात्तीका देखाउने दाँत मात्र हुन् । ओलीले २०७४ सालमा नेकपा बनाउँदा जबज छाडेर एक्काइसौँ शताब्दीको भुत्लो समाउने गम्भीर भूल गरेका थिए । नेकपामा जबज विरोधीहरू हाबी हुँदै गएको चाल पाएर ओलीले सच्याउन थालेको आभास पाएपछि उनलाई एक्ल्याउन जबज विरोधी माधव—प्रचण्डहरू एक ठाउँमा जम्मा भए । ओलीलाई पार्टीको साधारण सदस्यताबाट पनि निष्कासन गरे । उक्त निष्कासनलाई सदर गर्न सजिलै सकिन्थ्यो । नेकपा माओवादीलाई ब्युँताउन छाडेर एकीकृत एमालेमै समाहित हुने वैधानिक बाटो अपनाउन सकिन्थ्यो । त्यसो गर्दा नेतृत्व परिवर्तन गरेर एकीकृत पार्टीलाई फुट्नबाट जोगाउन सकिन्थ्यो ! यसले प्रष्ट बुझिन्छ— प्रचण्ड–माधवको उद्देश्य वाम खेमालाई सुदृढ र एकीकृत गर्नु—जोगाउनु नै थिएन । आन्दोलनको यस वामधारलाई विभाजन र अस्तव्यस्त मात्र गर्नु थियो । यसमा एक हदसम्म उनीहरू सफल पनि भएको देखियो । आज स्थानीय निर्वाचनमा  नेपाली काँग्रेस, जसपा, जनमोर्चाको सहारामा उभिँदा समेत माधव नेपाल र प्रचण्ड दुवैको सिरीखुरी मिसाउँदा पनि केपी ओलीलाई भेटाउन सकेका छैनन् । यसले नेकपाभित्र उनीहरू बहुमतमा होइन, कम्युनिष्ट आन्दोलन तोडफोड गर्ने उपद्रोमा लागेको तथ्य आफै बोल्छ । 

आजको काँग्रेसले वाम खेमाको मूलधार चिनेको छ । उसैसँग उसको प्रतिस्पर्धा छ । वाम मूलधारका विरुद्ध हिंसावादी र जबज विरोधीहरू चर्को रूपमा उत्रिए । २०७९ को स्थानीय निर्वाचनमा उनीहरू काँग्रेसी सरकारका टुल्स(टेका) भएकाले उससँग मागेका मतले उर्लेर वाम खेमालाई पत्तासाफ बनाउन देखेको सपना धराशायी हुन पुग्यो । वाम मूलधारलाई पहिलो हुनबाट रोकेर कतर्नाे बनेकोमा खुसी हुने हैसियत भने राख्छन् । 

यथार्थमा यो २०७९को निर्वाचन पनि मूलतः काँग्रेस र एमाले बीचकै रह्यो । अस्थिरताका जड किर्ना पालेर बदनाम हुने कि आफ्नै बलबुतामा उभिने ? काँग्रेसको कोर्टमा बल पुगेको छ, काँग्रेसले विचार गर्ला ।

नेपालको वाम खेमाको नेतृत्व जबजले गर्छ । शास्त्रीय मार्क्सवाद वा हिंसावाद नेपाली समाजको ज्ञानगुन र जानकारीको विषय बन्न सक्छ । धरातलीय राजनीति जनताको बहुदलीय जनवादले गर्ने हो । उसले यो काम प्रतिस्पर्धामा उत्कृष्टता हासिल गरेर मात्र गर्छ । जबजप्रति निष्ठावान् नेतृत्वले वामहरूको मूलधारलाई अघि बढाउन सक्दछ । थकित पाकाहरूको ठाउँ नयाँ उर्जावानहरूले लिनुपर्दछ । विचारका शक्ति त्यसका ऊर्जावान् र निष्ठावान् नेता कार्यकर्ता र जनता हुन् । जनता समीक्षक, समर्थक र निर्णायक शक्ति हुन् । हेक्का रहोस्, जनता कसैका पनि रैथाने मतदाता होइनन्, हुँदैनन् । देशको कार्यकारी प्रमुख प्रत्यक्ष चुन्न नपाउने गणतन्त्र, कानुनमा काखा र पाखा हुने अवस्था बनाएको र जातिवाद, नश्लवाद, हिंसावाद, वंशवाद, सम्प्रदायवादलाई हेर्ने दृष्टिकोणमा काँग्रेस र एमाले अलमलिनु देशलाई अघि बढाउन नसक्नु र अन्यथा हुनु हो ।

प्रचारबाजी गर्नेहरूले २०७४ मा जितेका केपी ओली २०७९ मा पराजित भएर दोस्रो भएको हल्ला गर्दै छन् । खासमा मूलधारको एकीकृत वाम आन्दोलनलाई भत्काएर पत्तासाफ बनाउन  भित्रै रहेका र यसमा छिरेकाहरूको साझा प्रयासलाई जबजको उज्यालोमा सङ्गठित शक्तिले रोकेको छ । वाम खेमालाई छिन्नभिन्न पारेर असामयिक दुराग्रहीहरूलाई अग्र भागमा ल्याउने नियत पर्दाफास भएको छ ।

जबजलाई हिंसा र पृथकतामुनि थिच्ने कुचेष्टा नाकाम भएको छ । संसारमा जनता हारेको इतिहास छैन । जति पटक लोटे पनि फेरि उठेर अघि बढेको मात्र इतिहास छ । नेपालको वाम मूलधार जबजका  सिपाहीहरू जित्दै आएको कुनै ठाउँमा अस्थायी रूपमा भएको पराजयलाई आकाश खसेको ठान्दैनन् । भविष्यमा जित्ने तयारीको रूपमा लिएर अघि बढ्छन् । विचारले सशक्त आमान्ने—सामुन्नेको पोजिसन लिएर मुकाबिला गर्नेहरू निराश र हतास हुन जान्दैनन् । आत्मसमीक्षा र वस्तुनिष्ठ विश्लेषण गरी अघि बढिरहन्छन् । आजको एमालेले त्यही गर्नेछ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ३१ बजे