आज वर्षाको सम्भावना

अमेरिकी उपमन्त्रीबाट नेपालको परराष्ट्र नीतिको मूल्य र मान्यतालाई खण्डित गर्ने काम भयो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाउनु भएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जियाको भ्रमणको क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने काम भएको बताउनु भयो ।

‘अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरु छन् त्यसलाई खण्डित गर्ने व्यवहार भयो, अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘नेपालले जहिलो पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर जुन प्रकारले उक्साउने काम भयो र नेपाली भूमिलाई प्रयोग गर्ने त्यो वास्तवमा बेठीक थियो भन्ने विषय पनि हाम्रो पार्टीको अध्यक्षले सविस्तार चर्चा गर्नु भएको थियो ।’

बैठकमा अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीति असंलग्न रहँदै आएको पनि स्मरण गराउनु भएको थियो। उपमन्त्री जियाले गत साता तीन दिने नेपाल भ्रमण गर्नु भएको थियो । भ्रमणको क्रममा उहाँले ललितपुरको जावलाखेलमा रहेको तिब्बती शरणार्थी शिविरको पनि भ्रमण गर्नु भएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ४१ बजे