आज वर्षाको सम्भावना

पोखराको मतगणना स्थगित

पोखरा । पोखराको मतगणना स्थगित भएको छ । पोखराको १८ नम्बर वडामा ९ वटा मत गाएप भएपछि मत गणना सुरु नभएको हो । 

एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नौ मत हराएको छ,’ एमलेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भन्नुभयो, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।’

पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ । मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसक्नुभएको छ । 

यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ । गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् । वडा नम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : २९ बजे