आज वर्षाको सम्भावना

झापामा एमाले अगाडि

झापा। झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १७ जना निर्वाचित हुनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) एक्लैले प्रमुख पदमा ७ र उपप्रमुख पदमा १० जना निर्वाचित गराएको हो ।

नेपाली कांग्रेस पार्टीबाट प्रमुखमा ५ र उपप्रमुखमा ४ गरी ९ जना निर्वाचित गराउन सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई र उपप्रमुख पदमा दुई गरी चार जनालाई निर्र्वाचित गराउन सफल भएको छ । नेकपा (माओवादी केन्द्र) बाट प्रमुख र उपप्रमुख पदमा एक जना पनि निर्वाचित भएका छैनन् । 

नेकपा (एमाले)बाट मेचीनगर, विर्तामोड, शिवसताक्षी, गौरादह, अर्जुनधारा नगरपालिकामा  प्रमुख र उपप्रमुख, तथा बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद नेकपा (एमाले)ले जितेको छ । 

त्यस्तै कनकाई नगरपालिका, गौरीगञ्ज, कमल वुद्धशान्ति र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पदमा नेकपाा (एमाले)बाट निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट मेची नगरपालिकामा निर्वाचित हुनेमध्ये प्रमुखमा  गोपालचन्द्र बुढाथोकी, उपप्रमुखमा मीना कुमारी पोख्रेल रहनुभएको छ ।  

विर्तामोड नगरपालिकामा प्रमुख पदमा पवित्रा महतरा प्रसार्इं र उपप्रमुखमा नगेन्द्रप्रसाद सङ्ग्रौला निर्वाचित हुनुभयो । अर्जुनधारा नगरपालिकामा प्रमुख पदमा बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख पदमा खड्गमाया पराजुली निर्वाचित हुनुभएको छ । शिवसताक्षी नगरपालिकाको प्रमुखमा मेगाहाङ थोप्रा र उपप्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ ।

उता गौरादह नगरपालिकामा प्रमुख पदमा छत्रपति सुवेदी र उपप्रमुखमा  जलवर्षा राजवंशी निर्वाचित हुनुभयो ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चम्लगाई र उपाध्यक्ष पदमा शान्तादेवी शिवाकोटी खरेल निर्वाचित हुनुभयो । यता कनकाई नगरपालिकाको  प्रमुख पदमा राजेन्द्रकुमार पोखरेल, कचनकवल गाउँपालिकाको उपप्रमुख पदमा नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पदमा पुजन न्यौपाने कुँवर, कमल गाउँपालिकाको उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारी निर्वाचित हुनुभयो । 

वुद्धशान्ति गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट भवानीप्रसाद खतिवडा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसले झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । झापा गाउँपालिकामा अध्यक्ष पदमा जयनारायण शाह र उपाध्यक्षमा अञ्जुवेदी थपलिया निर्वाचित हुनुभयो ।

त्यस्तै भद्रपुर नगरपालिकाको प्रमुख पदमा गणेश पोखरेल, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्रप्रसाद सिंह राजवंशी, कमल गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई, बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मनोज प्रसार्इं निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखमा दमक नगरपालिकामा  रेगिना भट्टराई र  कनकाई नगरपालिकामा आशा शर्मा शिवाकोटी निर्वाचित हुनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दमकको  प्रमुख पदमा राम थापा, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित हुनभयो ।  भद्रपुर नगरपालिकाको उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको छ ।  

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ५९ बजे