आज वर्षाको सम्भावना

तनहुँमा दलित समुदायका दुई उपप्रमुख

तनहुँ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । 

जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित हुनुभएको हो । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । 

यसैबीच जिल्लामा मतगणना  सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो । मतगणनापश्चात छ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “उक्त अवधिभित्र  मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।” 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ११ : १५ बजे