काठमाडौंको फोहोर प्रहरीको सहयोगमा बञ्चरे डाँडामा फाल्न सुरु

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर धादिङको बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ ।

आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ ।

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो ।

स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।
स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास छ ।

बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ–जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ३० बजे