आज वर्षाको सम्भावना

पुनः मतदान भएको साँफेबगर १३ बाब्लामा एमाले विजयी

अछाम । दोस्रो पटक मतदान भएको अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्ष रूप बहादुर कुँवर ५९९ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँले एकीकृत समाजवादीका उम्मेदवारलाई ३० मतान्तरले पराजित गर्नुभयो । कांग्रेस–समाजवादीको तर्फबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका टेक बटालाले ५६९ मत प्राप्त गरी पराजय हुनुभयो ।
वडा सदस्यहरूमा ३ जना नेकपा एमालेका विजयी हुनुभएको छ ।  पहिलो खुला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभयो ।

उक्त वडाबाट मेयरमा नेकपा एमालेलाई ६०१ र काँग्रेसलाई ५८० मत खसेको थियो भने उपमेयरमा सुर्यलाई ६०२ र कलमलाई ५४८ मत प्राप्त भएको थियो ।

वैशाख ३० गते गठबन्धन र एमालेका कार्यकर्ताबिच झडप भए पछि मतदान स्थगित भएको थियो ।वडा नम्बर १३ को राष्ट्रिय मा.वि. बाब्लाको मतदान केन्द्र ‘क’ र ‘ख’मा वैशाख ३० गते ३४४ मत खसेपछि विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । उक्त मतदान केन्द्रमा १ हजार ९६९ मतदाता रहेको तथ्याङ्क थियो ।जेठ ६ गते भएको पुनः मतदानमा १२४२ मतदाताले मतदान गर्नुभएको थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : २३ बजे