आज वर्षाको सम्भावना

भरतपुरमा चार वडाको मत गणना गर्न बाँकी

चितवन – भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ । महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ । गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राख्नुभएको छ । दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मङ्गलबार बिहानसम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भइरहेको छ ।
 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : २२ बजे