आज वर्षाको सम्भावना

अन्नपूर्ण गाउँपालिकाको पहिलो निर्णय : ५० प्रतिशत अनुदानमा सबैको स्वास्थ्य बिमा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गर्नुभएको हो । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताउनुभयो । उहाँले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताउनुभयो ।

‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन् । धेरै श्रोत चलाउन सकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर‍्‍याउँछौं । त्यसका लागि होमवर्क सुरु भैसकेको छ ।’ उहाँले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ०४ बजे