‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्थानीय निर्वाचनमा देखिएका पात्र र प्रवृत्ति : सम्भावित राजनीतिक चरित्र र संस्कृति

धेरै वर्षपछि यस पटक राजनीतिक रूपमा बढी सक्रिय भएर चुनावी गतिविधिमा संलग्न हुने परिस्थिति बन्यो । यस क्रममा धेरै पात्रहरूलाई भेट्ने अवसर मिल्यो । भेटिएका अपवाद पात्रहरू बाहेक प्रायः सबै व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टीमा संलग्न भएर सक्रिय भएको पाइयो । ती पात्रहरूमा सामूहिक शक्तिको महत्त्व र प्रभावका बारेमा कुनै वैचारिक स्पष्टता देखिएन । जसले गर्दा उनीहरूको चरित्रले कुनै पनि बेला पार्टीलाई धोका दिन सक्ने अवस्थामा थियो । जुन चुनावको नतिजामा देखियो । तर चुनावअघि नै यो पक्षका बारेमा लेखेर चुनावी माहौल कमजोर बनाउनु सही हुन्थेन । त्यसैले चुनाव सकिएपछि आफ्ना अनुभवहरूलाई आन्दोलनको स्वार्थमा व्यक्त गर्न गइरहेको छु । यदि मेरा अनुभवबाट प्राप्त निष्कर्षले कसैलाई व्यक्तिगत रूपमा आघात पुगेमा क्षमा माग्न चाहन्छु, किनभने यी कुराहरू लुकाउनु आन्दोलनप्रति अन्याय हुनेछ भन्ने मैले विश्वास गरेको छु । 

राजनीतिलाई व्यवसायीकरण गर्ने गरी केही मुख्य पात्रहरूले लगानीसहित सक्रियता देखाएको पाइयो । उनीहरूले व्यक्तिगत तथा सानो गुटको स्वार्थमा पार्टीको संयन्त्रलाई प्रयोग गरेर आन्दोलनप्रति जनताको आशा र विश्वास कमजोर बनाउन सक्रिय हुँदा चुनाव जित्न सक्ने क्षेत्रमा अनपेक्षित हार बेहोर्नुपर्‍यो । कतिले त चुनाव प्रचार—प्रसारमा हिँड्ने तर विपक्षीको जितलाई सहज हुने गरी गोप्य क्रियाकलाप गरेको पाइयो । यस्तो चरित्र भएका पात्रहरू प्रायः सबै पार्टीमा देखियो । बुर्जुवा पार्टीमा त्यो चरित्र देखिनु अस्वाभाविक थिएन तर वामपन्थी पार्टीभित्र त्यो चरित्र देखिनु र त्यस्तो संस्कृति विकास हुँदै जानु भनेको ज्यादै खतरनाक अभ्यास हो ।  त्यसैले यहाँ त्यो प्रवृत्ति र चरित्रमा सुधार ल्याउने मनसाय रहेको कुरा स्पष्ट पार्नुपर्छ भन्ने ठानेको छु । 

त्यही प्रवृत्ति, चरित्र र संस्कृतिका कारणले चुनाव सकिएर जित हारको नतिजा आइसकेपछि पनि ती पात्रहरू आफूलाई अब्बल साबित गर्न अरूलाई आरोप लगाउन व्यस्त देखिन्छन् । आफू आदर्शवान् देखिने प्रयास गर्दै छन् । तीमध्ये केही पात्रले चुनाव पनि जितेका छन्, तर तिनीहरू आफ्नो जितमा अरूको कुनै भूमिका थिएन भन्ने ढङ्गले प्रस्तुत भइरहेका छन् । यस्ता पात्रहरूबाट आन्दोलन कसरी जोगाउने मुख्य चुनौती बनेको छ । चुनाव सकिएपछि त्यसको समीक्षा आन्तरिक रूपमा गर्दै काममा केन्द्रित हुनुभन्दा अरूलाई दोष लगाएर पद र समयको दुरुपयोग गर्दै तिनले आफ्नो हैसियत देखाउँदै छन् । 

यस्ता दरिद्र पात्रहरूबाट असल कामको अपेक्षा गर्नु मूर्खता हुनेछ । त्यसैले यतिखेर निर्वाचनको समीक्षा सँगसँगै इमानदार भएर पार्टी गतिविधि तथा नेतृत्वको विगतका क्रियाकलाप र भूमिकाको पनि निर्मम समीक्षा गरिनुपर्छ । अन्यथा देशले अपेक्षा गरेझैँ राजनैतिक तथा संवैधानिक स्थिरतासहित समृद्धिको यात्रा सफल बनाउन सक्दैन । यसर्थ हामीले देशको स्वार्थमा आफ्नो ब्रह्मले देखेको कुरा भनेर र बुझाएर नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको रणनीतिलाई असफल बनाउँदै जनताको आशा बढाउँदै उनीहरूको विश्वास जित्नुपर्छ ।

स्थानीय चुनाव सकियो । जित्नु पर्ने धेरै ठाउँ हारियो, अनि हार्ने सम्भावना भएका केही ठाउँ जितियो पनि । अब परिणाममा चर्चा गरेर समय र सामर्थ्यहरू बरबाद पार्ने होइन, हारका कारणहरूको बारेमा मन्थन गरेर कमजोरीहरू सुधार्दै पार्टीहरूले आफ्नो वैचारिक जगमा जनतासँग पुग्ने रणनीतिसहित कार्यनीति बनाउनुपर्छ, किन भने सङ्घ र प्रदेशको निर्वाचन सम्मुखमा छ । 

आफ्ना जनप्रतिनिधि तथा कार्यकर्ताहरू कसरी परिचालन गर्दा जनअपेक्षाहरूको सम्बोधन हुन्छ भन्ने कुरामा विशेष ध्यान दिएर सक्रियता बढाउनुपर्छ । यदि आगामी निर्वाचन आफ्नो सबल र असल पक्षको जगमा लड्न पार्टीहरू तयार भएनन् भने अनपेक्षित परिणाम आउन सक्दछ । त्यसैले विलम्ब नगरी जनतासँग जोडिने उपायहरू खोज्नुपर्छ । अहिलेलाई तत्काल जनतासँग पुग्ने र जोडिने दुई वटा उपायहरू छन्—

पहिलो: निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय सकारात्मक र रचनात्मक क्रियाशीलता: 
​​​​​​​अब यथाशीघ्र स्थानीय निर्वाचनमा जितेका जनप्रतिनिधिहरूलाई उनीहरूको भूमिका र जिम्मेवारी बुझाउन, त्यो व्यवहारमा उतार्न पार्टीले सबभन्दा पहिला उनीहरूलाई प्रशिक्षण दिनुपर्छ । उनीहरूलाई पार्टीको समन्वय र सल्लाहमा जनताको पक्षमा निष्पक्ष र निष्कलङ्क भएर काम गर्न प्रेरित गर्दै भोलिका दिनमा पनि नियमित प्रशिक्षणका क्रियाकलाप गरिरहनुपर्छ । 

२०७४ को स्थानीय निर्वाचनपछि पार्टीसँग जनप्रतिनिधिहरूको कुनै सामिप्यता भएन, उनीहरू राजनीतिक रूपमा भन्दा प्रशासनिक रूपमा बढी क्रियाशील हुँदा अनपेक्षित रूपमा लोकप्रिय मत हुँदाहुँदै पनि चुनाव हार्ने परिस्थिति बन्यो । प्रशासनिक दबाब र प्रभावमा उनीहरू परेको कुरा व्यवहारहरूमा स्पष्टै देखिन्थ्यो । पार्टीले त्यसलाई सच्याउने जमर्को पनि गरेन । परिणामस्वरूप जनताको मनमा राजनीतिक दलप्रति वितृष्णा बढ्न थाल्यो ।

दोस्रो: पार्टी कार्यकर्ताहरूको नियमित प्रशिक्षण र प्रभावकारी परिचालन: 
पार्टीको संयन्त्र र नेता तथा कार्यकर्ताहरूलाई प्रभावकारी रूपमा सक्रिय बनाउन केन्द्रदेखि पालिकाको वडा स्तरसम्म स्कुल विभाग गठन गरेर त्यसको सक्रियता बढाउनु पर्छ । यसका लागि प्रशिक्षण पाठ्यक्रम बनाउन विशेषज्ञहरूको एउटा समूह सम्भव भएसम्म केन्द्रदेखि वडासम्म गठन गर्नुपर्छ । स्कुल विभागमार्फत कार्यकर्ताहरूलाई नियमित प्रशिक्षणका कार्यक्रम चलाएर उनीहरूको भूमिका बुझाउँदै सक्रियता बढाएर उनीहरूलाई उनीहरूको क्षमताअनुसार परिचालन गर्ने परिपाटीको विकास गर्नै पर्छ ।

अन्यथा चुनावहरूमा नेता तथा कार्यकर्ताहरूले बोक्दा पार्टीको चुनाव चिन्ह बोक्ने, अनि छाप अर्कै चिन्हमा ठोक्ने खराब अभ्यास कायमै रहन्छ र अझ बढ्न समेत सक्दछ । यस खालको गलत चिन्तन र अभ्यास कसरी सुधार्ने ? पार्टीभित्र खुला चिन्तन मनन हुनुपर्छ । ठुला नेताहरूले आफ्नो भूमिकाको समीक्षा आफै गर्दै हारको नैतिक जिम्मेवारी लिएर भोलिका दिनमा विगतमा गरेका कमी—कमजोरी नदोहोर्‍याउने भरपर्दो प्रतिज्ञा गर्नुपर्छ ।

चाणक्यले भनेका थिए, “झगडा गर्ने दुस्मनसँग डराउन त्यति आवश्यक छैन, जति मित्र बनेर घात गर्नेहरूसँग डराउनुपर्छ ।” हामीले चाणक्यको यो विचारलाई मनन गरेर आदर्शअनुरूपको व्यवहार गर्दै जनतामा आशा जगाउने र राजनैतिक प्रणालीमाथि विश्वास बढाउनुपर्छ । लोकतान्त्रिक गणतन्त्रमा निरङ्कुश वंशतन्त्र अर्थात् राजतन्त्र खोज्ने र बहुदलीय व्यवस्थाभित्र निर्दलीय अभ्यास रोज्ने हाम्रो चेतनाले नेपालमा फेरि नियन्त्रित अस्थिरता बढाउने काम हुँदैछ । 

तर हामी भने सत्य तथ्य नबुझी लहलहैमा लागेर वंशतन्त्र खोज्ने र निर्दलीयता रोज्ने पात्र, प्रवृत्ति र समूहलाई बलियो बनाउने गरी कार्यशील भइरहेका छौं । हामीमा विकास हुँदै आउन थालेको यस खालको प्रवृत्ति, चरित्र र संस्कृति हटाउन पार्टीहरूले विगतको वस्तुनिष्ठ समीक्षा गरेर आत्मआलोचना सहित जनतालाई अपिल गर्नुपर्छ । यसका साथै, सञ्चार माध्यमहरूले पनि इमानदार हुँदै राज्यको चौथो अङ्गको भूमिका निर्वाह गरेर जनमन भ्रमित हुनबाट जोगाउनुपर्छ ।

काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहको अग्रता र सम्भावित जितलाई व्यवस्थाको असफलतासँग लिएर चर्चा गरिन खोजिँदैछ । जबकि त्यो महानगरबासीको वितृष्णा र नकारात्मक चैतन्यसँग जोडिएको छ । जसका कारणले बालेन साहलाई पर्दा पछाडिबाट निर्देशन गर्ने निर्देशक र लगानी गर्ने निर्माता चिनिएन, अनि कालो चस्माभित्र के छ खोजिएन । जसरी हिजो राजनीतिमा रवीन्द्र मिश्रको प्रवेशलाई चर्चा गरिएको थियो, त्यसरी नै आज बालेन्द्र शाहको चर्चा गर्न—गराउन भूमिगत रूपमा ठुलै समूह लागेको छ । आज रवीन्द्र मिश्र कुन हालतमा छन्, हामीलाई थाहा नभएको होइन । त्यसैले, नागरिकको सकारात्मक र रचनात्मक चैतन्यको विकासमा राजनीतिक दलहरूले सकारात्मक भूमिका बढाउनु पर्ने देखियो । समस्या आम नागरिकमा मात्र होइन, राजनीतिक नेतृत्व र कार्यकर्ताहरूमा पनि उत्तिकै भेटियो ।

हामी “समृद्ध नेपाल, सुखी नेपाली बनाउने” महान् अभियानमा छौं, स–साना धक्का र क्षणिक असफलताबाट आत्तिनु हुँदैन । विगतबाट सिकेर भविष्यको प्रश्नमा केन्द्रित हुँदै आदर्शअनुरूपको व्यवहार र व्यवहार अनुसार चरित्र र संस्कार निर्माण गर्दै अघि बढ्नुपर्छ । फेरि उपयोगितावादी सोच र कुण्ठाग्रस्त मनोविज्ञानबाट मुक्त हुँदै वैचारिक जगमा पार्टी चलाउने र आवश्यक भए गठबन्धन बनाउने संस्कृतिको विकास गर्नुपर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : २९ बजे