सुनको मूल्यमा नयाँ कीर्तिमान

१५ देशमा फैलियो मंकीपक्स सङ्क्रमण

लन्डन । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स सङ्क्रमण थप देशहरूमा पनि देखिएको छ । 

अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स सङ्क्रमण फैलिने देशको सङ्ख्या १५ पुगेको छ । 

देशबाहिरबाट आएका एक एक जनामा सङ्क्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शङ्कास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ । 

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरूको अध्ययन भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस सङ्क्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् । 

यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने , थकान महसुस हुने लक्षण देखिन्छ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ । एजेन्सी

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ४१ बजे