दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाराका १४ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ? 

बारा । १६ वटा स्थानीय तह रहेको बारा जिल्लाका १४ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रमुख पदमा विजयी हुनुभएको छ भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी हुनुभएको छ । परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोदप्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । 

२०७४ को निर्वाचनमा दुई पालिकामा जित हासिल गरेको एमालेले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिका दुवै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने का‌ंग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी हुनुभएको छ । महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव उपन यादव दोहोरिनुभएको छ । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी हुनुभएको हो । 

यता बाराको आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी हुनुभएको छ । उहाँले ४ हजार ८७ मत प्राप्त गरी विजयी हुनुभएको हो । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको का‌ंग्रेसले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिसहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाइसकेको छ ।  

यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भुप्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गर्नुभएको हो । यसअघि करैयामाईमा नेपाली कांग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । 

 विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अली भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशोरीप्रसाद कलवारले ११ हजार १३७ मतसहित विजयी हुुनुभएको छ । यसअघि सिम्रौनगढमा नेपाली का‌ंग्रेसले जित हासिल गरेको थियो । जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पार्नुभएको हो । उहाँको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन । 

बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी हुनुभएको हो । अन्सारीलाई नेपाली का‌ंग्रेसले टिकट नदिएपछि उहाँ विवेकशील प्रवेश गरी निर्वाचनमा होमिनुभएको थियो । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।     

हाल सम्मपनि पचरौता नगरपालिका र बारागढी गाउँपालिकाको भने मतगणना भइरहेको निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : ०० बजे