आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा(एमाले)का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । 

उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ । 

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गर्नुभएको छ । 

यसैबीच वडा नं ७ र ९ मा काँग्रेस विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याउनुभएको थियो । 

त्यस्तै वडा नं ९ मा काँग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गर्नुभएको छ । 

अहिलेसम्म तुलसीपुरका नौ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ०१ बजे