आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । आवधिक निर्वाचनले निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात् तथा व्यवस्थापन गर्छ । असन्तोषलाई बुलेटबाट हैन, ब्याटलेबाट अभिव्यक्ति गर्न सकिन्छ भन्ने कुराको प्रमाण दिन्छ । आवधिक निर्वाचनले नेताहरूलाई जनतातिर फर्काउँछ । जनतातिर फर्किएर विनयशील बन्दै नमस्कार गर्न सिकाउँछ । हरेक वर्ग समुदायलाई आत्मसम्मान र समानताको बोध गराउँदै स्वाधीन र स्वतन्त्र समाज बनाउँछ । जनताका घर—दैलोमा पुगेर जनताका कुरा सुन्न विवश बनाउँछ । विकास निर्माणका खाकाहरूमा जनताको रुचिलाई ख्याल गर्छ । निर्वाचनले जनताको बार्गेनिङ क्षमता बढाउँछ । जनतासँग सम्झौता गरेर मात्र भोट पाउन सकिन्छ भन्ने कुरा पनि सिकाउँछ । त्यसैले समाज विकास र सभ्यता बढाउन आवधिक निर्वाचन महत्त्वपूर्ण विधि हो । यो समाज विकासको प्रक्रियासँगै विकसित हुँदै आएको नुतन मूल्य हो ।
निर्वाचन आयोग आफैमा स्वायत्त संस्था बन्नु पर्छ । यो सरकारको कठपुतली बन्नु हुँदैन । आवधिक निर्वाचनको मिति सकिदा बित्तिकै सरकारको निर्देशन पर्खने हैन कि आफै मिति घोषण गर्न सक्ने हैसियत निर्वाचन आयोगलाई हुनुपर्छ । यस्ता कुरामा सरकार र निर्वाचन आयोग बीच सहकार्य हुनु जरुरी छ ।
अहिले मुलुकमा स्थानीय निर्वाचन भइरहेको छ । त्यो निर्वाचनको समष्टि परिणाम आउँदै छ । यो पटक गठबन्धनबाट नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो र नेकपा माओवादी तेस्रो भएका छन् । राजनीतिक क्यान्भासमा कुन कुन दलहरूको आयतन फुक्दैछ । कुन कुन दलहरूको आयतन खुम्चदैछ । जनताले आफ्नो मनको असन्तोष कसरी पोखिरहेका छन् ? हामीले कुन कुन विधि प्रक्रिया र सोचाइमा फेरबदल गर्नु पर्ने हुन्छ भन्ने शिक्षा सन्देश पनि दिएको छ ।
एउटा कुरा के हो भने निर्वाचन आयोग पहिलाको तुलनामा सक्षम बनिरहेको छ । निर्वाचन आचारसंहिताले काम गर्न थालेको छ । जनतामा अलिकता परिपक्वता आएको छ । नेताहरूमा सत्तोन्मादका कारण परिपक्वता देखिँदैन । तर पनि उनीहरूमा पनि पहिलाको तुलनामा अहिले अलि राम्रो संस्कारको विकास हुन थालेको मान्न सकिन्छ ।
विगतमा दुई ठुला दलहरू आफ्नो प्रभाव क्षेत्रमा निर्वाचन आयोगलाई औपचारिक लाइसेन्स पाउने दलको रूपमा सम्झन्थे । जहाँ जसको बलियो अवस्था छ त्यहाँ त्यस पार्टीले बुथ कब्जा गरी सबै पदहरू लिन्थे । दलका कार्यकर्ताहरू छापामार सेना जस्ता हुन्थे । आ-आफ्ना गढ किल्लाहरू जोगाउन निर्वाचनको दिन काँढेलौरा काट्ने, नक्कली पिस्तोलहरू, खुकुरीहरू, छुरीहरू समाउने हल्ला गर्ने, भयपूर्ण वातावरण बनाउने, गौँडा कुरेर बस्ने, अघिल्लो राती घरघरका छानामा ढुङ्गा हान्ने, बाटामा आउनेहरूलाई माथिबाट ढुङ्गा पल्टाउने, बुथ कब्जा गर्ने काम हुन्थ्यो । त्यस्तो डरलाग्दो निर्वाचन पद्धति आज एकाध अपवाद बाहेक निकै शान्त देखिँदै छ ।
त्यस समयमा निर्वाचनमा खटिएका कर्मचारीहरू किं कर्तव्य विमूढ हुन्थे । मतदान अधिकृतहरूले मतपत्रमा सही गरेर दिने अनि राजनीतिक दलका नेताहरूले छाप हानेर बाक्सा भर्ने अनि समयावधि पुगेपछि मुचुल्का गरेर सदरमुकामतिर हिँडाउने चलन थियो । कर्मचारीहरूलाई जे जसरी हुन्छ आफ्नो कर्तव्य फत्ते गरेको प्रमाण भए पुग्थ्यो । सरल तरिकाले मतदान भए पनि एक जनाले झुक्याई झुक्याई पन्ध्र सोह्र पटकसम्म फर्जी भोट हालेका हुन्थे । कुनै कुनै ठाउँमा त शतप्रतिशतसम्म भोट खस्थ्यो । कर्मचारीहरूमा पनि सङ्घ—सङ्गठनको भावना प्रबल थियो । भित्रभित्रै कर्मचारीहरूले पनि आफ्नो पार्टीलाई सहयोग गर्थे । निर्वाचन आयोग केवल औपचारिकता प्रदान विवश थियो ।
त्यो दिन सबै गाविसका मतदान केन्द्रहरूमा त्रास फैलन्थ्यो । सहर, सदरमुकाममा तुलनात्मक राम्रो हुन्थ्यो । गाविसका मतदान केन्द्रहरूमा आउने मतदाताहरू लखेटिन्थे । मतदान केन्द्रमा जाँदा ढुङ्गा पल्टिने भएको हुनाले मतदान स्थलसम्म जान गाह्रो थियो । निर्वाचनको दिन पर्वको दिनभन्दा पनि रुवाबासी दिन हुन्थ्यो । त्यस्ता दिनहरू पनि हामीले भोग्यौँ । त्यस विकृत काममा राजनीतिक दलका नेताहरूको भूमिका हुन्थ्यो । उनीहरू उत्प्रेरक थिए । २०४८ को संसद्को निर्वाचन, २०४९ को स्थानीय निकायको निर्वाचन, २०५१ को संसद्को निर्वाचन, २०५४ को स्थानीय निकायको निर्वाचन, २०५६ सालको संसदीय निर्वाचन यस्तै सकसपूर्ण निर्वाचन थिए । नेपालमा निर्वाचनमा क्रमिक सुधार हुँदै आएको छ ।
त्यस समयमा निर्वाचन चिन्ह अङ्कित टिकटहरू, टोपहरू लगाउँथ्यौँ । ठाउँ ठाउँमा ठुला ठुला ब्यानरहरू झुण्डाउँथ्यौं । उम्मेदवारका फोटाहरू जताततै टाँसिन्थे । पर्चा पम्ल्पेटले सार्वजनिक ठाउँहरू फोहर हुन्थ्यो । हाम्रो निर्वाचन पद्धति वातावरणमैत्री थिएन । तर अहिले पुरै फेरिएको छ । राजनीतिक दलका उम्मेदवारहरूको खर्च कम भएको छ । विगतमा जस्तो पैसा लिएर मतदान गर्ने चलन हटेको छ । नागरिक जागरूक देखिन्छन् । यो सकारात्मक उपलब्धि हो । कतिपय कुरामा हामी भारतीय तथा अन्य मुलुकको निर्वाचन प्रणालीमाभन्दा पनि सभ्य भइरहेका छौँ । यस्ता सकारात्मक उपलब्धिहरूको रक्षा गर्ने र प्रचार गर्नु हाम्रो कर्तव्य हो । राम्रोको प्रचार गरेर, यसलाई बढाएर मात्र यसका कमजोर पक्षहरू हटाउँदै जान सकिन्छ ।
यस पटकको निर्वाचनमा राजनीतिक दलका नेताहरू अलिकता सुधारिएको आभास भएको छ । पश्चिम नेपालको सहर बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को घरदैलो अभियानमा तीन जना टी सर्ट लगाएका कार्यकर्ताहरूलाई सम्बन्धित दलकै निर्वाचन परिचालन कमिटीका जिम्मेवार व्यक्तिहरूले टी सर्ट लगाएर घर—दैलो अभियानमा आउन दिएनन् । उनीहरूले टी सर्ट फेरेर मात्र अभियानमा हिँडाए । शिष्टता मर्यादा पालन गरे । विनयशीलतामा ख्याल गरे । खर्च कटौतीमा ध्यान दिए । पहिला मासु भात, रक्सी खुवाएर हिँडाउनू पर्ने अवस्था सुधारियो । नागरिकहरूले पनि आआफ्नो कर्तव्य बोध गरे । पर्चा पम्प्लेटहरू कहीँ देखिएन । ब्यानरहरू कहीँ झुण्डयाइएन । अभियानमा हिँड्दा एउटा मात्र ब्यानर लिएर हिँडे । मोटर साइकल र्याली पनि घटे । अन्तिम दिनमा अलिकता प्रतिस्पर्धा देखिए पनि मर्यादित र सन्तुलित थियो ।
यस पटक मतदान स्थलमा पहिलाजस्तो विवादहरू पनि भएनन्, कम भए । मुर्दावाद र जिन्दावादका चर्का नाराहरू त्यति लगाइएन । यो सहअस्तित्वको भावना हो । सबैको अस्तित्वलाई स्वीकार गर्ने र स्वच्छ निर्वाचन गर्ने विषयमा पार्टीहरू सहमत भएका छन् र समानता, स्वतन्त्रताको विकास भएको छ ।
यो निर्वाचनमा उम्मेदवारहरूले पैसा खर्चने कुरा अझै समस्या छ । उम्मेदवारले जित्नका लागि पैसा बाँडेका छन् भन्ने समाचारहरू सुनिन्छन् । यो सबैभन्दा फैलिएको समाचार हो । यता उम्मेदवारहरूले बढी खर्च भयो भन्ने गरेकोले पनि यो विषय बढी चर्चामा छ । उम्मेदवारले ४ लाख खर्च भए १० लाख भयो भन्ने गर्छन् । प्रचार राम्रो भएसम्म सकेसम्म पैसा बाँड्दैनन् । तर त्यहाँ पनि मध्यस्थ दलालहरूले पैसा खर्च गराउन प्रयास गर्छन् । तर पनि यस विषयलाई निरपेक्ष रूपमा हेर्न हुँदैन । कैयौँले बाँडेका पनि होलान् । विपन्नताको कारण यस्तो समस्या छ । तथापि त्यो पनि कमजोर बन्दै छ । विगतमा जस्तो छैन । निर्वाचन आयोगले १० दिनभन्दा ज्यादा प्रचार—प्रसारको समय नदिएको कारणले पनि खर्च कम भयो । अपराधहरू घटे । आगामी सङ्घीय तथा प्रादेशिक निर्वाचनमा पनि प्रचार—प्रसारको समय कम गर्नुपर्छ ।
अहिले सहरतिर नोकरी गर्न आएका व्यक्तिहरूलाई मतदानको लागि गाउँतिर लैजानु पर्दा उम्मेदवार वा सम्बन्धित सम्पर्क कमिटीहरूले मतदाताहरूलाई आफ्नो मतदान स्थलसम्म लैजाने र पुनः फर्काउने काममा सवारी साधनको लागि लगानी गरेका छन् । चुनाव प्रचार—प्रसारको गर्दा हिँड्ने कार्यकर्ताहरूको लागि सामान्य दालभात खाने विषयमा खर्च गरेका छन् ।
निर्वाचनमा मतदाताहरूका घरमा पुग्ने र बडो विनयशीलताका साथ आशीर्वाद लिने काम गरे । उम्मेदवारहरूको विनयशीलता राम्रो देखिन्थ्यो । घरको मुलीलाई मात्र हैन, सकेसम्म परिवारका सबै सदस्यसँग हात जोडेर नमस्कार गर्दै भोट माग्ने विनयशील शैली बडो रोमाञ्चक देखिन्थ्यो । कसैले आज भोट माग्दा नमस्कार गर्छन्, जित्दाको अर्को दिन फर्केर हेर्दैनन् भन्दै टिप्पणी पनि गर्थे ।
यस पटकको निर्वाचनमा जनताले शान्तिपूर्ण रूपमा असन्तोषको अभिव्यक्त ग¥यो । विगतमा सत्तामा रहेकाहरूलाई फेर्यो । नयाँलाई सत्ताको वारेसनामा दियो । युवा उम्मेदवारलाई विशेष रोज्यो । समावेशीकरणलाई ख्याल गर्यो । विद्रोह पनि शान्तिपूर्ण रूपमा गर्न सकिने रहेछ भन्ने सन्देश दियो । अब नेपालमा सशस्त्र वा सडक आन्दोलन कम हुनेछ । यो मूल्य पछिल्लो लोकतन्त्रले स्थापना गर्यो । दल विशेषका किल्लाहरू तोड्यो । एमालेका लाल किल्लाहरू कङ्ग्रेसका श्वेत किल्ला बने । कङ्ग्रेसका श्वेत किल्लाहरू एमालेका लाल किल्ला बने । माओवादीलाई पनि राम्रो स्थान दियो । यसले क्षेत्रीय नारा दिने, जातीय नारा दिने, धर्मको नाममा राजनीति गर्न चाहने साम्प्रदायिक तत्त्वहरूलाई पत्याएन । २०७२ सालमा स्थापित राजनैतिक मूल्यहरूलाई नै महत्त्व दियो । त्यसैले हाम्रो लोकतन्त्र बलियो बनेको छ । स्वतन्त्र उम्मेदवारहरूलाई पनि यो संविधानले स्थान दिएको छ । काठमाडौँमा बालेन शाहको विजयोन्मूख तथ्याङ्कले राजनीतिक दलहरूलाई विशेष सङ्केत गरेको पुष्टि गर्छ ।
जे होस्, राजनीतिक दलहरू अब धेरै सचेत हुनुपर्ने देखिन्छ । विनयशील हुनु राम्रो हो । त्यो विनयशीलता सदाको लागि कायम राख्न सकिए राम्रो हुन्छ । तर पनि लोकतन्त्रले मतदातातिर फर्कायो । जनताको ताकतलाई बुझ्यो र रैती सम्झने दिनहरू गएछन् भन्ने जानकारी पायो । जनता महान् हुन् भन्ने थप पुष्टि भएको छ । यो नै ठुलो उपलब्धि हो ।
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ९ : ५५ बजे
प्रतिक्रिया