यस्तो छ आजको विनिमय दर

एकै दिन दर्जनौं घरमा चोरी

रसुवा – चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् ।

जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो । चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

    कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर  तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिनुभयो । उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र  माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।
 
    प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ । विभिन्न कोषबाट अनुसन्धानको  काम तीव्र रूपमा अगाडि बढिरहेकाले  शङ्कास्पद व्यक्तिको गोप्यरूपमा  हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गर्नुभयो । 
 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ०७ बजे