आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तह निर्वाचनले एमालेको जनमत  घटेको छैन : सचिव अर्याल

काठमाडौँ । नेकपा एमालेका सचिव पद्मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उहाँले बताउनुभयो । तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उहाँको भनाइ छ । 

“गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्दा हाम्रो सिट सङ्ख्या केही कम भयो” सचिव अर्यालले भन्नुभयो । 

पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि उहाँले बताउनुभयो । 

“निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा छ गर्छ नै”, उहाँले भन्नुभयो, “तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्ने थियो । त्यो सफल भएन ।”

सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकता विरोधी नभएको पनि दाबी गर्नुभएको छ । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको उहाँले बताउनुभयो । 

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ३० बजे