पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले उद्घोष गरेअनुसार स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने अवस्था देखिएन । यसमा गठबन्धन सरकार एमालेविरुद्ध अनेक किसिमले धाँधली गर्न लागिपर्यो । रुकुम र ताप्लेजुङ जिल्लामा हत्याहिंसा हुँदा समेत सरकारले यसमा मौन समर्थन गर्यो, सरकाले नै कतिपय ठाउँमा एमाले उम्मेदवार र मतदातालाई भयभीत बनायो ।
यसले गर्दा एमाले पक्षमा अपेक्षित परिणाम आउने देखिएन । धाँधली गरेको देखीदेखी अहिले हतारमा पार्टीले यो विषय उचाल्नु हुन्न थियो भन्ने केही नेताको बोली जायज छैन । यस निर्वाचनमा ओलीले उल्लेख गरेझैँ जित हासिल नहुँदा बालको खाल उखेल्ने गरी एकाध नेता अब कतिपय मिडियामा आगो ओकल्नेछन् । तिनको एउटै काम पार्टी र अध्यक्ष ओलीलाई कसरी र कति खुइल्याउने भन्नेमा नै केन्द्रित रहने देखिन्छ । तिनले आफूलाई खुबै दूरदर्शी तथा सैद्धान्तिक नेताझैँ ठानेर ओलीले कम्युनिस्टहरूका बीच चुनावी गठबन्धन नगर्दा निर्वाचनमा हार व्यहोरेको डङ्का पिट्नेछन् । एमाले पार्टीका केही नेताले निर्वाचनको सन्निकट पनि पार्टी अध्यक्षको बदख्वाइँ गरिरहेकै थिए, फेरि पनि गर्नेछन् । तिनले ओली सरकारले विगत सरकारका तुलनामा देश र जनता हितका गरेका अभूतपूर्व कामहरू त्यतिबेला उच्चारण गरेनन् र चुनाव प्रचारका बेला एक थोपो बोलेनन् । यस खालका चरम खोटी व्यवहार गर्दा पनि सहने ओलीलाई नेपाल गुटले अधैर्य भएर पार्टी विभाजन गरेको दोषारोपण गर्दा सुन्नेलाई लाज हुन्छ । यस्ता अराजक चिन्तन र चरित्र बोकेका नेता देखेर ओली र पार्टीको धैर्य अझै टुटेको छैन । शिशुपालले झैँ सयभन्दा बढी अपराध गर्न दिनका लागि पर्खिएको हो भने केही भन्नु छैन । तर अब भने पार्टीले बराला पाराका नेतालाई क्रमशः अङ्कुश लगाउन थाल्नुपर्छ ।
स्थानीय निर्वाचनका सुरुआती दिनदेखि नै पार्टी एकताबद्ध भएर लागेको भए परिणाम धेरै सकारात्मक आउने निश्चित थियो । ओली सरकार ढालेर एमाले सिद्ध्याउने खेलमा दाहाल नेपाल टुप्पी कसेर लागे पनि सकेनन् । एमालेले केन्द्रबाट गठबन्धन गरेको भए यही निर्वाचनमा अझ खराब अवस्था आउने थियो । किनभने नेपाल दाहालको कुत्सीत उद्देश्य भित्रबाट होस् वा बाहिरबाट होस्, भरिसक्के एमाले सिद्ध्याउने नत्र अत्यन्त कमजोर पार्ने कुनियत थियो । यो कुरा बुझेर बुझ पचाएर बोल्नेसित के भन्नु र ? तर जनताको साथ समर्थन र विश्वास पाएको एमाले जनताकै सहयोगमा सशक्त र सबल बन्यो र बन्नेछ । जनमतकै हिसाबले हेर्दा पनि थाहा हुन्छ । न्यायप्रेमी तथा देशभक्त जनताले एमाले विरोधी देशी विदेशी तप्कालाई तह लगाए । प्रतिक्रियावादी कित्ताका वरिष्ठ अधिवक्ता समेत अरू कुनै देश जनता विरोधी ओलीका खोट नपाएर अहङ्कारी नेता भन्छन् । भारतीय स्वार्थ अनुकूलको गठबन्धन सरकारले झैँ भारतेली सबै थिचोमिचो लुरुक्क परेर नसहँदा ओली अहङ्कारी हुनुभएको भन्न खोजेको भए यो सोह्रै आना सही छ ।
एमाले भित्र नै विद्यमान आन्तरिक अन्तर्विरोधका कारण निर्वाचनमा अपेक्षित परिणाम आएन । यसको समाधान गर्न पार्टीबाट समयमै कुनै पहल नै भएन । त्यस बाहेक एमाले विरोधी अत्यन्त अराजक चरित्र र चिन्तनलाई तुरुन्तका तुरुन्त नछाँस्दा पनि त्यसले पन्छिने मौका पायो । झारपात रूपी विषले लहलहाउँदो बाली नाश गर्ने देखीदेखी उपचार गरिएन । ओलीले लामो समयपछि एमाले पार्टीलाई जबजको लयमा फर्काउन खोज्नु भएको हो । तर नेतृत्वका केहीले भने जबजको लय बिर्सिन थालेको थियो । जबजले राजनीति वा राजकीय क्षेत्रमा राम्रो नेतृत्वलाई स्थापित गर्ने सोच राखेको थियो तर केही अपवाद छाडेर हालको एमाले नेतृत्व राम्रो होइन हाम्रो नेतृत्वलाई नगर प्रमुख वा उपप्रमुख र वार्ड अध्यक्षमा टिकट दिन चाहन्थ्यो र दियो पनि । यही कारण ओलीको वरिपरि प्रदक्षिणा गर्ने नेता पनि जात, जाति, थर, गोत्र, आफन्त मात्रै होइन टिकट दिन गोरु बेचेको साइनो खोजेर हिँडेका थिए । यसैले मुहानमा नै धमिलो पानी रसायो र देशैभरि फैलियो ।
एक पित्को पुरस्कार पनि नपाउनेहरू चुनावी कार्यक्रममा अहोरात्र खटिरहेको देखिन्छ तर त्यहीँ विराटनगरबाट बारबार पार्टी र सरकारबाट महत्त्वपूर्ण र महँगो औसर पाइरहने बुद्धिजीवी सङ्कटका बेला देखिएनन् । तर तिनै हिजो र भोलि पनि राजदूत लगायत अनेक बन्न खान नेताका ढोका चहार्नेछन् र पाउनेछन् पनि । यसरी पार्टीमा कसैलाई आजीवन मान, सम्मान, पदक र पुरस्कार दिइन्छ र धेरैलाई गोठको गोठालो बनाउन खोजेपछि भित्रभित्रै चरम असन्तुष्टि बढ्नु स्वाभाविकै हुन्छ । यसतर्फ समयमा नै ध्यान दिनु आवश्यक देखिन्छ ।
प्रहरीले मुस्कान सेवा सुरु गरेको छ तर एमाले पार्टी र यसका अधिकांश नेताहरू स्रष्टा, लेखक र बुद्धिजीवीलगायत कार्यकर्ता र जनतासित ठस्के र चस्के व्यवहार गर्छन् । यस खालको अत्यन्त तिक्त र विरक्त बोली वचन र व्यवहार यही लेखकले भोगेको छ ।
तर, मार्क्सवाद र जबज बुझेका कैयौँ नेता अगुवा कार्यकर्ता र बौद्धिक वैचारिक व्यक्तिहरू नुनिला आँसु पिएर यही पार्टीमा आबद्ध छन् । तर सात खतबात सहेर कोही पनि व्यक्ति सिद्धान्त मात्र घोकेर सधैँ बस्दैन । कमरेड ओलीले भनेझैँ व्यक्तिगत इज्जत र आबरु यसै पार्टीमा रहन्छ कि भनेर मात्र बसिएको हो । तर यस पार्टीमा भाइरसको सङ्ख्या हिमाल चुलीसम्म पुग्ने स्थिति देखिँदै छ ।
दसौँ महाधिवेशनमा अध्यक्ष ओलीले लिखित रूपमा प्रस्तावित गर्न लागेको सर्वसम्मत नामावलीमा टिपेक्स लगाउने काम कसरी कसकसको सहयोगमा थपिएको थियो ? यो सामान्य बात होइन । पार्टीको माथिल्लै तहदेखि आफ्ना र आफन्तलाई पार्टीमा र स्थानीय प्रदेश र सङ्घमा टिकट दिलाउने जबजको लय विरुद्ध काम कार्यवाही व्याप्त भएको देखिन्छ ।
त्यसैले, अध्यक्ष लगायत केही नगण्य बाहेक अधिकांश नेताहरू जबजको लय विरुद्ध गतिविधि गरिरहेका छन् । तिनले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्ने जबजको उच्चतम आदर्श सिद्धान्त बिर्सेजस्तो छ । जननेता मदन भण्डारी पार्टीलाई प्रतिभाको फूलबारी बनाउने ध्याउन्नका साथ मरिमेटेर लाग्नुभयो ।
त्यसैले उहाँले पार्टी राजनीति र राजकीय क्षेत्रमा अयोग्यमध्ये होइन योग्यमध्ये योग्यतमलाई जिम्मेवारी प्रदान गर्न थाल्नुभएको थियो । तर उहाँको षड्यन्त्रपूर्वक हत्या भएपछि माधवकुमार नेपालले भण्डारीको मान्यताका विपरीत पार्टी सञ्चालन गर्न थाले । यसै कारण उनको १५ बर्से कार्यकालमा पार्टी ओरालो हुँदै भिरालोतिर दौडिएको हो । यस खालको गम्भीर सङ्कटबाट नवौँ महाधिवेशनबाट ओलीले पार्टीलाई सही दिशातिर फर्काउन थाल्नु भएको हो । नत्र नवौँ महाधिवेशनमा नेपाल पार्टी अध्यक्ष भएका भए यो पार्टी पहिचान विहीन हुने निश्चित थियो ।
ओलीको उदयपछि पार्टी जबजको लयतिर उन्मुख हुन थालेको हो । तर लामो समयदेखि बेतालको लयमा बानी परेका अधिकांश नेताको बेहोरा स्थानीय तहमा टिकट दिने र दिलाउने क्रममा नै छरफस्ट भयो । यसले कार्यकर्तामा व्यापक निराशा र आक्रोश सिर्जना गरेको छ । अतिचार गरेपछि चुनावी परिणाम नकारात्मक बन्यो ।
एउटै चन्द्रमाले अन्धकार हटाउँछ । एउटै सूर्यले धर्ती झलमल्ल पार्छ । जुन र जुनकिरीमा आकाश पातालको फरक हुन्छ । एउटा पोथ्राले आफूलाई मात्रै ओत दिन्छ । समीको विशाल वृक्षले विशाल क्षेत्रलाई शीतलता प्रदान गर्छ । बुद्ध पनि मानिस हुन्, हामी पनि मानिस नै हौँ, तर कति फरक छ उद्देश्य र लक्षमा ।
आफू मिठाई अरूलाई दिने पनि हुन्छन् र अरूलाई मिठाई आफैँ मात्र हसुर्ने पनि हुन्छन् । अहिले एमाले पार्टी आन्तरिक रूपमा अनेक खालका अन्तर्विरोधले ग्रस्त हुँदै गएको देखिन्छ । यसको एउटै ओखती एक मुस्कान मिजास र मिलनसारिताबाट घटाउन सकिन्छ । तर यत्ति कुरामा पनि नेतालाई राम्ररी प्रशिक्षण नदिई जान्दैनन् ।
गर्दा हुन्छ भन्ने कुराको एउटै उदाहरण प्रहरी र सेना विभागको तालिम हो । एउटा मानिस प्रहरी सेवाको तालिममा पर्यो भने उसको शरीर सखुवाको काठ सरह बलियो हुन्छ तर उही मानिस सेनाको तालिममा पर्दा उसको शरीर फलाम सरह सबल हुन्छ । सिद्धार्थ गौतमले आफूलाई बुद्ध बनाउनुभयो, अरू सबैले त्यसो गर्न सकिएन ।
देशी विदेशीको तारो बनेको देश र जनताको हितका खातिर मरिमेटेर लाग्ने एउटै पार्टी एमाले हो । यस पार्टीलाई चौघेराबाट गरिएको आक्रमणलाई परास्त पार्न के.पी.शर्मा ओलीको नेतृत्व कौशल र सशक्त क्षमता महत्त्वपूर्ण मान्नुपर्छ । एमालेकै सरकारका देश र जनहितका अनेकन् विकास निर्माणका कामहरूका यस पार्टीमा जनआकर्षण अत्यधिक बढेको देखिन्छ । तर चामल बेच्ने क्षमताका नेताहरूको अझै यस पार्टीमा कमी देखिन्छ । एमाले र ओली विरुद्धका प्रतिक्रियावादी स–साना आरोपहरूलाई तथ्यपरक रूपमा शालीनतापूर्वक प्रभावकारी प्रतिवाद गर्ने नेताहरूको यस खडेरी देखिँदै छ । अब पार्टी र सङ्गठनलाई क्रमशः गुणस्तरीय बनाउन लागिपरिएन भने यो खहरेजस्तै सुक्न सक्छ ।
यस कुरालाई बेलैमा विशेष ध्यान दिन जरुरी देखिन्छ । लामो समयदेखि थुप्रिएर रहेको सैद्धान्तिक, साङ्गठनिक तथा सिर्जनात्मक विचलन नै पार्टीको अहिलेको प्रमुख समस्या रहेको छ । कला, साहित्य र संस्कृति जस्ता विषयमा पार्टीको हदै सम्मको उपेक्षाका कारण कम्मर मुनिका र्यापर गायकको समाजमा रजगज चलेको हो । हरदिन चुनावी गतिविधिको समीक्षा नगरेपछि गल्तीमाथि गल्ती थपिन्छ । जनताको मनोभाव हामी र हाम्रा उम्मेदवारप्रति के कस्तो छ भन्ने पटक्कै वास्ता नगर्दा हिँड्दै छ पाइला मेट्तैछ भएको देखिन्छ । जान्दा श्रीखण्ड नजान्दा अँगेनको दाउरो हुन्छ । जबजको मर्मलाई आत्मसात् गर्नेहरूले नै यसको लय बुझ्न सक्छन् ।
आफ्नो वर्ग, तह र समुदाय सिङ्गैलाई सबल र सक्षम बनाउने प्रतिस्पर्धालाई समाजवादी प्रतिस्पर्धा भनिन्छ र यसको अभाव पार्टी नेताहरूमा पाइन्छ । सामन्तवादी र पुँजीवादी जस्तो आफू मात्र योग्य, सक्षम र पदयोग्य भन्ने पुँजीवादी प्रतिस्पर्धा नेताहरूमा पाइन्छ । अहिले नै कतिपय त केन्द्रीय स्तरको औकात राख्न नसक्ने नेता केन्द्रीय सदस्य रहेको देखिन्छ । प्रतिभाको फूलबारी बनाउने र सबै प्रतिभालाई समान अवसर दिने कुरामा पार्टीले गम्भीर ध्यान दिनुपर्छ ।
पार्टीमा जीवनशैली र आचार र आचरण बदल्ने कुरा अहिलेसम्म गरिएको देखिएको छैन । सिद्धान्तअनुसार आफूलाई नै परिवर्तन गर्न नसक्ने नेता र पार्टीले देशमा आमूल परिवर्तन गर्ने कुरा फगत गफ मात्र हुनेछ । मनको मैलो साबुनले झैँ धोएर जाँदैन ।
यसका लागि आत्मिक संस्कृतिका क्षेत्रमा गम्भीर तथा सघन प्रशिक्षण अपरिहार्य देखिन्छ । यसका लागि मणि थापा र खगेन्द्र राई जस्ता जनसांस्कृतिक चिन्तक तथा नेतालाई नै हेर्ने अधिकांश स्थायी समिति सदस्यहरूको रुग्ण चिन्तन र चरित्र बदल्नु अपरिहार्य देखिन्छ ।
चुरो छाडेर बोक्रा र पलाँसका मात्र भरमा परेर पार्टी र समाजको गुणात्मक रूपान्तरण सम्भव हुन्न । यस्ता विषय नबुझ्ने नेता अत्यधिक छन् । त्यसैले जनसांस्कृतिक महासङ्घ तथा सांस्कृतिक कर्मीहरूलाई नजानिँदो पारामा हेला होचो गर्ने काम बन्द गर्नुपर्छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ८ : ५५ बजे
प्रतिक्रिया