यस्तो छ आजको विनिमय दर

भ्रष्टाचार मुद्दामा निलम्बित माओवादीका वडाध्यक्ष  गाउँपालिका अध्यक्षमा फेरी निर्वाचित, सपथ गराउने विषय नै अन्यौल 

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कि नगराउने भन्ने अन्योल भएको छ ।

विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुुद्दा विचाराधीन रहिरेका बेला उनी फेरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि  सपथ ग्रहण गराउने वा नगराउने भन्ने विषयमा निर्वाचन कार्यालयका अधिकारी अन्योलमा परेका हुन् ।

कैलालीका मुुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचन प्रक्रियामा सहभागी भएर उहाँहरु विजयी भइसकेपछि भ्रष्टाचार सम्बन्धी अदालतमा मुद्दा विचाराधीन रहेको कुरा जानकारीमा आएकोले के गर्ने भन्ने अन्यौल भएको बताउनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुुद्दा लागेको र अहिले विशेष अदालतमा मुद्दा विचाराधीन रहेको पुष्टि गर्नुभयो । 

 ‘भ्रष्टाचार मुुद्दा लागेपछि कुुनै पनि राष्ट्र कर्मचारीले सरकारी कामकाज गर्न पाउदैनन् । जननिर्वाचित व्यक्ति पनि राष्ट्र सेवक भएका कारण उहाँहरुले मुद्दाको अन्तिम फैसला नभएसम्म जनप्रतिनिधिको रुपमा काम गर्न पाउनुुहुुन्न,’ कुरुम्बाङले भन्नुभयो ।

उहाँले भ्रष्टाचार मुद्दामा अभियोग लागिसकेपछि जनप्रतिनिधिका रुपमा सपथ ग्रहण गर्न समेत नपाउने बताउँदै तत्कालीन अवस्थामा निलम्बन गरिएका व्यक्तिले पुनः सोही भूमिकामा काम गरेको अवस्थामा नियन्त्रणमा लिइने समेत जानकारी दिनुभयो ।

अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोप उपाध्यमाथि छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मुद्दामा मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।५६ लाख रुपैयाँ बिगो माग दाबीसहित अदालतमा आरोप पत्रमा दायर गर्ने बेला उपाध्याय वडा नम्बर २ को वडाध्यक्ष थिए । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : २६ बजे