ललितपुर महानगरमा नौ वडाको गणना सकियो

ललितपुर। ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

 नेकपा (एकीकृत समाजवादी)ले  दुई र नेकपा एमालेले  एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्  । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन  वडा नं ८ मा  बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ । 

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सक्नुभएन । रविनले  ८२५ मत पाउनुभएको छ भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाउनुभएको छ । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि  शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।  

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाउनुभएको छ । 
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : १० बजे