संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिनुभएको छ । 

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९ र ८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । 

तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख  सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उहाँको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिनुभयो । 

यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितको विरोध जनाउनुभयो ।  

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ४२ बजे