भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

झापा। झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो । 

पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गर्नुभयो । उहाँले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो । राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभयो । राप्रपाका  नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभएको छ । 

नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाउनुभयो । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । 

जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ११ बजे