तीन प्रदेशमा वर्षाको सम्भावना

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । 

नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुख समेत रहनुभएका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा हुनुहुन्छ । 

उहाँभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहनुभएको छ । 

गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मत परिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राख्नुभएको छ । उहाँले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सात वटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव ९देवु०, वडा नं २ मा काँग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा काँग्रेसकै चन्देश्वर साह विजयी हुनुभएको छ । अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : १७ बजे