दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

मत परिणाम कुर्दाकुर्दै हैरान ललितपुरका मतदाता

ललितपुर।  धापाखेलका राजु महर्जन चार दिनयता दैनिक जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान आइपुग्ने गर्नुहुन्छ । ललितपुर महानगरपालिकाको मतगणना भइरहेको सो प्रतिष्ठानको बाहिर बसेर भित्रको नतिजा थाहा पाउने तथा परिवार, आफन्त र साथीभाइलाई जानकारी दिनु उहाँको दिनचर्या बनेको छ । 

आफूले भोट हालेको पार्टीका समर्थकसँग दिनदिनै बसेर चिया खाँदै दिन कटाएको महर्जन बताउनुहुन्छ । स्नातकोत्तर अध्ययनरत उहाँ आफूले भोट दिएका व्यक्तिले जित्लान कि नजित्लान भन्ने चासोले गर्दा घरमा बस्न नसकेको सुनाउनुहुन्छ । मत परिणाम आउन ढिला हुँदा महर्जन र उहाँजस्तै सरोकारवाला सबै हैरान छन् । कर्मचारी थपेर पनि चाँडो गणना सकाउनुपर्नेमा उहाँको जोड छ । अहिले २ र ३ वडाको मत गनिरहेकाले  र आफ्नो वडा २४ नम्बरमा पुग्दा अझै धेरै दिन लाग्नसक्ने महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गर्भमा बसेको बच्चा १०, ११ महिनासम्म जन्मन नपाएको जस्तो भयो, भोट हालेको १०÷१५ दिन कुर्नुपर्ने भयो ।”

गाबहालकी सुनिता शाक्य पनि सन्तान बोकेरै जावलाखेल पुग्नुभएको भेटिनुभयो । आफ्नो दिदी नै उम्मेदवार भएकाले चासो बढी लागेको उहाँ बताउनुहुन्छ । चर्काे घाममा छाता ओढ्दै शाक्य मत परिणामको प्रतीक्षामा हुनुहुन्थ्यो । चाँडो नतिजा आए जे भए पनि ढुक्क हुने उहाँको भनाइ छ । 

देशभरका विभिन्न पालिकामा जस्तै ललितपुरका पालिकामा पनि मतगणना सुस्त हुँदा यहाँका मतदाता हैरान छन् । आफूले भोट हालेको चार दिन बित्दा पनि आफ्नो वडाको मतगणना सुरु नहुँदा उनीहरु दैनिक मतगणनास्थल आउने जाने गरेका छन् । सञ्चारमाध्यमबाट मत परिणाम घोषणा हुनास थाहा  नहुने भएकाले आफू दैनिक मतगणनास्थल पुगेको यहाँ भेटिने मतदाता बताउँछन् । 

महालक्ष्मी नगरपालिकाको मतगणनास्थल इमाडोलमा भेटिनुभयो टीकाथलीका महेश अधिकारी । शनिबारदेखि नै बिहानै आएर साँझसम्म पनि मतपरिणाम के आउँछ भनी कुरेर बसिरहेको उहाँको पनि उस्तै भनाइ छ । आफूले मतदान गरेको पार्टीले जित्ने आधार देखिएकाले पनि कुरेर बसेको अधिकारी  बताउनुहुन्छ । सिङ्गो पालिकाको अन्तिम परिणाम र आफू बस्ने वडाको परिणाम के आउला भन्ने चासो उहाँलाई छ । अधिकारी भन्नुहुन्छ, “अब सबैले जितेपछि वा हार्ने निधो भएपछि मात्र आउन छोड्ने हो ।”

 मतगणना सुस्त भएको र बाहिर परिणाम दिन अझै ढिलाइ भएको भन्दै अधिकारी निर्वाचन आयोगले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुहुन्छ । अहिलेसम्म जम्मा एउटा वडा मात्रै मत गणना सकिएकाले सबै सक्न अझै हप्तौँ लाग्नसक्ने देखिएको छ । आफूले हालेको मतको परिणाम थाहा पाउनका लागि धेरैजना घामपानी र दिनरात नभनी लागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जसले जितेपनि अन्तिम रिजल्ट आए त हामी आआफ्नो काममा फर्कन पाउँथ्यौँ ।”

टेलिभिजन र अनलाइनमा अरु जिल्लाका पालिकाको नतिजा हेरे पनि आफ्नो पालिकामा एउटा वडाको नतिजा आउनै दुई दिन लाग्दा महानगरवासी हैरान छन् । महानगरको मतगणनास्थल जावलाखेल, गोदावरी नगरपालिकाको गणना भइरहेको बज्रबारही, महालक्ष्मीको इमाडोललगायत तीनवटै गाउँपालिकाको केन्द्रमा अहिले मतदाताको भीड छ । आफूले मतदान गरेको उम्मेदवारले जितेपछि खुसीयाली मनाउन बसेकाको प्रतीक्षाको अवधि लम्बिरहेको छ । कतिपयत  आफ्नो काम छाडेर पनि यहाँ आइपुगेको बताउँछन् । 

जिल्लाका छ पालिकामध्ये तीनवटै गाउँपालिकामा कम मतदाता भएकाले पनि धेरै समय नलाग्ने देखिएको छ भने नगरमा मत गणना सुस्त छ । शनिबार मत गणना सुरु भएकामा मङ्गलबारसम्म पनि कतिपय पालिकाको थोरै कम मात्रै मत गणना भएको छ । खासगरी ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा मतगणना सुस्त छ । दुवै पालिकामा हालसम्म एकएक वडाको मात्रै मत गणना भएको छ । यही गतिमा मत गणना हुने हो भने दुवै पालिकामा अझै एक साताभन्दा बढी लाग्ने देखिएको छ । 

मतगणनामा कर्मचारी पुगेनन् वा ठाउँको अभाब भयो भने व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला निर्वाचन कार्यालयको  भएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरे बताउनुहुन्छ । जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक पर्दा जनशक्ति थप गर्नसक्ने भए पनि अहिलेसम्म कुनै पनि पालिकामा कर्मचारी पुगेनन् भनेर माग नभएको उहाँको भनाइ छ  । 

ललितपुर महानगरपालिकामा शनिबार दुई ठाउँमा मात्रै गणना भएकामा आइतबारदेखि दुई ठाउँ थपेर अहिले चार ठाउँमा गणना भइरहेको र  महानगरको बढी मतदाता भएका वडामा बढी समय लागेको निर्वाचन अधिकृत घिमिरेको भनाइ छ  ।  

 महालक्ष्मी नगरपालिकामा धेरै विवाद हुँदा मतगणनामा ढिलाइ भइरहेको उहाँ उल्लेख गर्नुहुन्छ । वडा नम्बर १ र १० गरी दुई ठाउँमा मतगणना सुरु गरिएकामा १० मा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको भनी विवाद भएको थियो ।  
 
नगरमा गोदावरी नगरपालिकामा अरु नगरपालिकाको भन्दा छिटो मतगणना भएको पाइएको छ । तीन ठाउँमा मत गणना भइरहेकाले अबको एकदुई दिनमा सकिने अधिकृत  घिमिरे जोड दिनुहुन्छ । गाउँपालिकामध्ये कोञ्ज्येसोम गाउँपालिकामा एउटा वडामा थोरै मत मात्रै गणना गर्न बाँकी भएकाले आजै परिणाम आउन सक्ने देखिएको छ । अहिलेको गतिमा हुँदा बागमती गाउँपालिकामा चाँडै परिणाम आउनसक्ने देखिएको छ । 

सुरुमा भन्दा अहिले कार्यरत कर्मचारीको पनि गति बढेको अधिकृत  घिमिरे बताउनुहुन्छ । सुरुका दिनमा सातआठ घण्टाको एक सिफ्टमा पाँच सय मतपत्र गनिने गरेकामा अहिले सातआठ सय मत गणना भइरहेको छ । एकहत्तर वडा रहेको ललितपुरमा अहिलेसम्म झण्डै आधाको मत परिणाम आउन बाँकी छ । महानगरपालिकामा चार र महालक्ष्मी नगरपालिकामा एक वडा र गोदावरी नगरपालिकामा नौ वडाको गणना सकिएको छ । दक्षिण ललितपुरका गाउँपालिकामध्ये कोञ्ज्येसोम र महाङ्काल गाउँपालिकाकै मत परिणाम आइसकेको छ भने बागमती गाउँपालिकामा दुई वडाको परिणाम आउन बाँकी छ ।  
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : १७ बजे