आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिङ्गो स्थानीय सरकारमा एक दल !

काठमाडौँ । स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ । अर्थात् एक दलले अन्य दललाई ‘क्लीन स्वीप’  गरिदिएको छ ।

ती स्थानीय तहहरू हुन्, निस्दी र पूर्वखोला गाउँपालिका तथा भक्तपुर नगरपालिका ।

नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै दुवै गाउँपालिकामा ‘क्लीन स्वीप’ गरेको हो । 

पूर्वखोलाको अध्यक्षमा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा ‘भट्टराई’ निर्वाचित हुनुभयो भने  ६ वटै अध्यक्षमा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका छन् । 

निस्दीमा पनि एमालेकै मुक्तबहादुर सारु अध्यक्ष तथा तिरनकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा गाउँपालिकाको सातै वडामा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका छन्  ।

गठबन्धन दलका उम्मेदवारहरूको घेराबन्दी तोडेर एमाले उम्मेदवारहरूले दुवै गाउँपालिकामा जितेका हुन् ।  एमालेले अघिल्लो पटक देशका धेरै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश १ को धनकुटाको सबै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । 

माओवादीले पनि रुकुम र रोल्पामा क्लीन स्वीप गरेको थियो । तर, यस पटक माओवादीले कहीँ पनि त्यसरी जित निकाल्न सकेको छैन । 

संसद्मा एक सिट रहेको नेपाल मजदुर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा यस पटक पनि क्लीन स्वीप गरेको छ ।  त्यहाँको नगर प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीसँगै १० वटै वडामा उक्त पार्टीका सबै उम्मेदवारले फराकिलो मतान्तरसहित काँग्रेस, एमाले, माओवादीलगायत उम्मेदवारहरूलाई पराजित गरेका हुन् ।

अघिल्लो पटक पनि त्यहाँ उक्त पार्टीले क्लीन स्वीप गरेको थियो । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : १४ बजे