एनपीएलको ट्रफी सार्वजनिक

बुद्ध, बौद्ध धर्म र धर्मयान !

अहिले संसारभरि नै धर्म भन्नासाथ हिन्दु, मुस्लिम, सिख्ख, इसाई जस्ता सम्प्रदायको रूपमा बुझ्ने गरिएको छ । ती सम्प्रदाय जस्तै बुद्ध अर्थात् बौद्ध धर्मका विषयमा पनि आम जनमानसको बुझाई उस्तै हुने गरेको छ । वास्तवमा बुद्धत्व प्राप्त सिद्धार्थ गौतमले आफूले प्राप्त गरेको र देशना गरेको विषयलाई कहिल्यै पनि धर्म वा बुद्ध धर्म भन्नुभएन । उहाँले जहिले पनि बुद्ध वा बौद्ध एक मार्ग हो भनेर बताउनुभयो । जुन निरन्तर चक्रको रूपमा चलिरहेको हुन्छ । तर अहिले बौद्ध मार्ग भन्दा बौद्ध धर्मको प्रधानता छ । जुन अन्य सम्प्रदाय जस्तै साम्प्रदायिक रूपमा देखिन थालेको छ । यसले मानिसलाई वास्तविक धर्म छाडेर सम्प्रदायको प्रधानताले वास्तविक धर्म अनुभूति गर्नबाट वञ्चित गराउँदै आएको छ । 

सिद्धार्थ गौतमले ज्ञान अर्थात् बुद्धत्व प्राप्तिको विद्या विपश्यनाको रूपमा आम जनसमुदायलाई वितरण गर्नुभएको थियो । जुन यस देशबाट लोप भइसकेको थियो । अहिले म्यानमार(बर्मा)मा शुद्ध रूपमा गुरु— शिष्य परम्पराबाट जोगिएको उक्त विद्या ‘विपश्यना’ विपश्यनाचार्य श्री सत्यनारायण गोयन्काद्वारा भारत, नेपाल हुँदै विश्वभर फैलिँदै छ । विपश्यनाचार्य श्री गोयन्काको भनाइ अनुसार, ‘जब कुनै त्यतिm सम्यक् सम्बुद्ध बन्दछ, चाहे सिद्धार्थ गौतम हुन् वा अन्य कोही; ऊ कदापि सम्प्रदाय स्थापित गर्दैन । शुद्ध धर्म नै आम समुदायलाई सिकाउँछन् ।’

शुद्ध धर्म अर्थात् प्रकृतिको नियम, जुन सबैमाथि एकै सरह लागू हुन्छ । जसले कसैमाथि पक्षपात गर्दैन । विश्वमा कोही बुद्ध बनुन् वा नबनुन्, यो नियम सदैव आफ्नो काम गरिरहन्छ । तर जब कुनै व्यक्ति बुद्ध बनिहाल्छ, तब उसले स्वअनुभूतिद्वारा यो नियम विधिवत् रूपमा थाहा पाइहाल्छ । दुःखी जनता, जसले यो कुरा भुलिसकेका हुन्छन्, उनीहरूलाई सम्झाउँछ । धर्म धारण गर्न प्रेरणा र उपाय दिन्छ । कालान्तरमा मानिस अनुभूतिद्वारा सम्झन सक्ने ती विधिहरू गुमाइसकेको हुन्छ र ती शिक्षालाई मात्र भावावेश वा बुद्धिविलासको विषय बनाइहाल्दछ । त्यहीँदेखि भिन्न भिन्न सम्प्रदायको जन्म र सङ्गठन बन्न थाल्दछ ।

बुद्ध मार्गभन्दा बुद्ध धर्मले प्रधानता पाएदेखि बौद्ध सम्प्रदाय बनेको छ । बुद्धले व्याख्या गरेको मुक्तिको मार्गमा हिँड्नका लागि भनेको धर्मयानलाई फरक फरक व्याख्या गर्दै बौद्ध सम्प्रदायभित्र पनि विभिन्न ‘यान’ जस्तै: हीनयान, महायान, बज्रयान, तन्त्रयान जस्ता यानी समूह समेत हुँदा वास्तविक धर्मयानबाट विचलित भएको देखिन्छ । यानको सन्दर्भमा भगवान् गौतम बुद्धको जीवनकालको एउटा घटना यस प्रकार उल्लेख भएको पाइन्छ, ‘त्यसबेला जानुश्रोणी नामको एउटा अत्यन्त धनवान ब्राह्मण श्रावस्तीमा बस्दथे । उनले आफूm धनवान भएको प्रभाव अरूमाथि पार्नका लागि कहिलेकाहीँ वैभव प्रदर्शन पनि गर्दथे । त्यसै क्रममा एक दिन उनी अत्यन्त मूल्यवान् र चित्ताकर्षक रथमा सवार भएर नगरबाट गइरहेको थिए । मानिसहरूले देखे कि उनको रथमा दुई सेता घोडा जोडिएका छन् । रथ पनि उज्ज्वल सेतो र सबै साज सज्जा पनि उज्ज्वल सेतो थियो र स्वयं जानुश्रोणी पनि उज्ज्वल सेतो कपडा र उज्ज्वल सेतो जुत्ता लगाएका थिए । त्यसमा उज्ज्वल चंवँर पनि डुलाइएको थियो । त्यो दृश्य देखेर मानिसहरू भनिरहेका थिए, ‘कति सुन्दर रथ छ, मानौँ ब्रम्हयान नै धर्तीमा उत्रेको छ ।’

भिक्षाटनका लागि गएका भिक्षु आनन्दले यो कुरा सुने र देखेपछि फर्केर जेतवन बिहार पुगेर उनले भगवान् बुद्धसँग सोधे, ‘भन्ते ! बुद्धहरूको धर्म शिक्षामा ब्रम्हयानको कस्तो व्याख्या छ ?’ बुद्धले भन्नुभयो, ‘यो जुन आर्य अष्टाङ्गीक मार्ग हो, यही नै ब्रम्हयान हो, यही नै धर्मयान हो, यही नै सर्वोत्तम सङ्ग्राम विजय हो ।’ 

बुद्धले अगाडि भन्नुभयो, सम्यक् सम्बुद्ध आर्य अष्टाङ्गीक मार्ग नै सिकाउँछन्— शील, समाधि, प्रज्ञाको सार्वजनिन मार्ग । यही धर्मयान हो । यही ब्रम्हयान हो । यही यान अर्थात् रथमा सवार भई साधक आर्य मार्गको यात्रा गर्दछन् । आफूmभित्र रहेको राग, द्वेष र मोहमाथि प्रहार गर्दछन् । यिनलाई परास्त गर्दछन्, समाप्त गर्दछन्  र सर्वोत्तम सङ्ग्राम विजयद्वारा मुक्ति, मोक्ष, निर्वाणको अन्तिम लक्ष्यमा पुग्दछन् । ब्रम्हयान अर्थात् आर्य अष्टाङ्गीक मार्ग यसैका लागि हो । 

आफ्नो साढे तीन हातको यो काया अर्थात् शरीरमा तन र मनको प्रपञ्चको समतापूर्वक यथाभूत निरीक्षण गर्दै साधक आफ्नो दर्शनलाई सम्यक् बनाउँदछन् । यसै प्रकार आफ्नो चिन्तन मननलाई, आफ्नो वाचिक (बोली) कर्म तथा आजीविकालाई सम्यक् बनाउँदछन् । साधक आफ्नो पुरुषार्थलाई, सजगतालाई र समाधिलाई पनि सम्यक् बनाउँदछन् । आर्य मार्गका यिनै आठ अङ्गलाई सम्यक् बनाएर आफू भित्रको राग, द्वेष र मोहलाई जडमूलदेखि नै उखेलेर फाल्दछन् । यस्तो धर्मयानमा सवार भएर कुनै पनि त्यतिm सङ्ग्राम विजयी हुन सक्दछ र जीवन्मुतm अरहन्तको त्यो अवस्थामा पुग्दछ, जहाँ उल्लासपूर्वक चित्तबाट यो घोषणा गर्दछ कि, विक्खीणो जाति संसार नत्थिदानी पुनब्भवो अर्थात् मेरो भव संसार नष्ट भयो । अब मेरो पुनर्जन्म हुँदैन । 

धर्मयानमाथि यात्रा गर्ने त्यतिm जोसुकै होस्, सारिपुत्र ब्राम्हमण होस् वा अनिरुद्र क्षत्रिय होस् वा भल्लीय वैश्य होस् वा उपाली नाई होस् वा सुनीत भङ्गी होस् वा सोपाक चाण्डाल होस् वा हत्यारा अङ्गुलीमाल होस् वा अम्बपाली वेश्या होस्, प्रत्येकले चढ्ने धर्मयान त्यही एउटै हो । आर्य अष्टाङ्गीक मार्ग जुन प्रत्येकको वीतराग, वीतद्वेष र वीतमोह भएर गन्तव्य मोक्ष अवस्थासम्म पुर्‍याउँछ । कुनै प्रकारको भेदभाव गर्दैन ।

बुद्धले यो धर्मयानको विस्तृत व्याख्या गर्दै भन्नुभयो, ‘यस्तो नै धर्मयान जसमा श्रद्धा र प्रज्ञा धर्म सदैव जोडिएका हुन्छन् । लज्जा जसको दण्ड हो, मन जसको लगाम हो र स्मृति (सजगता) जसको रक्षक सारथि हो, शील जसको सजावट हो, ध्यान जसको अक्ष हो, वीर्य (पुरुषार्थ) जसको पाङ्ग्रा हो, समता र समाधि जसको धुरी हो, निष्कामता जसको चँदुवा हो, अद्वेष अहिंसा, विवेक जसको अस्त्रशस्त्र हो । सहिष्णुता जसको गद्दी हो, जो योगक्षेमका लागि स्थित छ । 

धीर पुरुष स्वयं यस्तो धर्मयान बनेर सबै लोक पार गरी निस्केर जाने गरेका हुन्छन् । यही उसको परं विजय हो । यो विशुद्ध धर्मयानमा न कहीँ कुनै प्रकारको कर्मकाण्डको कण्टक छ, न कहीँ कुनै प्रकारको पूजापाठको विधि विधान छ, न कहीँ कुनै प्रकारको अन्धभक्तिजन्य भावावेश छ, न कहीँ कुनै जातिपातिको जञ्जाल छ । न कहीँ कुनै छुवाछुतको रोग छ, न कहीँ कुनै प्रकारको वर्ण गोत्रको या उँचनीचको भेदभावको जकडन छ । यसमा न कुनै प्रकारको साम्प्रदायिक बन्धन छ । न कहीँ कुनै प्रकारको कल्पनाजन्य दार्शनिक मान्यताहरूको भुलभुलैया छ । न कहीँ कुनै प्रकारको व्रत उपवास जस्तो अतिचर्या छ, न कहीँ कुनै प्रकारको वेश भुषा या बाह्य आडम्बरहरूको मिथ्या प्रदर्शन छ । शुद्ध, स्वच्छ साधनाको धर्मयान हो । 

दुःखीहरूको लागि भव दुःखबाट नितान्त दुःख विमुतm हुनका लागि नै सबै बुद्धहरूले शुद्ध, स्वच्छ, श्वेत धर्मयान दिने गर्छन् । तर समय बित्दै जाँदा मानिसहरू साम्प्रदायिक उल्झनमा पर्दछन् । धर्मयान त छुटिहाल्छ नै, त्यसको ठाउँमा साम्प्रदायिक ‘यान’ प्रमुख भइहाल्छ । जस्तो कि हीनयान, महायान, वज्रयान, तन्त्रयान, मन्त्रयान, यन्त्रयान, सिद्धयान, सहजयान र अनेकानेक यान । यी सबै प्रकारका ‘यान’ आफ्नो आफ्नो सम्प्रदाय विशेषसँग जोडिएका हुन्छन्, तर धर्मयान कुनै प्रकारको सम्प्रदायसँग जोडिँदैन । धर्मयान सबैका लागि हुन्छ । 

आजको परिवेशमा चाहे त्यो हिन्दु होस् वा मुस्लिम, जैन होस् वा बौद्ध, सिक्ख होस् या पारसी, इसाई होस् वा यहुदी शुद्ध धर्मयान सजिलोसँग ग्रहण गर्न सक्छ । निश्चय नै नितान्त दुःखविमुक्त हुन सक्दछ । साम्प्रदायिक जञ्जालबाट छुटकारा पाएर शुद्ध धर्मयान अवलम्बन गरी आफ्नो स्वमुक्ति साधन बन्न सक्दछ ।  

(लेखक अध्येता, अभियन्ता र पत्रकार हुनुहुन्छ ।)

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : १४ बजे