एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

बुद्ध : सिङ्गो मानव जातिका लागि प्रेरणा 

आज शान्तिका अग्रदूत महामानव गौतम बुद्धको २५६६ औँ जयन्ती हो । आज संसारभरिका मानिसले बुद्धको जन्म, कठोर तपसाधना र उहाँले निकाल्नुभएका कालजयी निष्कर्षहरूको स्मरण गरी बुद्ध जयन्ती मनाइन्छ । बुद्धका निष्कर्षहरू मानव समाजका लागि अत्यन्त हितकर छन् । कुनै पनि महामानव यसै बनेका हुँदैनन् भन्ने विषय पनि बुद्धको जीवनीबाट स्पष्ट हुन सकिन्छ । बुद्ध आफैमा अत्यन्त सृजनशील व्यक्तित्व हुनुहुन्थ्यो । यही सृजनशील व्यक्तित्वबाट नै आजको मानव समाज प्रभावित र लाभान्वित रहेको हो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । बुद्धलाई हिन्दुहरूले भगवान् विष्णुको नवौँ अवतारका रूपमा र बौद्धहरूले बुद्धलाई बौद्ध धर्मको संस्थापकका रूपमा मान्ने, बुझ्ने र पुज्ने गर्दछन् । तर, स्वयं बुद्ध भने यस्ता विषयमा सहमत हुनुहुन्थेन भन्ने देखिन्छ । 

बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठुलो जनसङ्ख्या बौद्ध मतावलम्बी रहेको छ । ई.पूर्व ५६३ मा अर्थात् आजभन्दा २५८५ वर्षअघि नेपालको लुम्बिनीमा उहाँको जन्म भएको हो । बुद्धलाई गौतम बुद्ध, सिद्धार्थ गौतम, शाक्यमुनि बुद्ध आदि अनेकौँ नामले सम्बोधन गरेको पाइन्छ । महामानव बुद्ध कल्पनाका पात्र नभई कपिलवस्तुका तत्कालीन शाक्य वंशीय राजा शुद्धोदन र महारानी मायादेवीका सन्तान हुनुहुन्छ ।  

राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान् बन्न उहाँले प्राण नै सङ्कटमा पर्ने गरी कठोर तप गरेको प्रसङ्ग छ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्ष र त्यसको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग विकास गर्नुभएको थियो । सन्तुलित साधनाबाट सिद्धि प्राप्त गरेका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय मनन गर्दा बुद्धलाई चिन्न गाह्रो पर्दैन । 

बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुनुहुन्छ । बुद्ध खोजी मात्र होइन, उपलब्धि हो । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र अस्वीकारोक्तिको खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानून् भन्ने सोच्नुपर्दछ । 

हामीले प्रायः चर्चा गरिने र यहाँ चर्चा गरिएका बुद्ध गौतम बुद्ध—शाक्यमुनि बुद्ध हुनुहुन्छ । यसअघि पनि बुद्ध थिए । 

बौद्ध मान्यता अनुसार १. तण्हकर बुद्ध, २. मेघंकर बुद्ध, ३. सरणंकर बुद्ध, ४. दीपंकर बुद्ध, ५. कोण्डञ्ञ बुद्ध, ६. मङ्गल बुद्ध, ७. सुमन बुद्ध, ८. रेवत बुद्ध, ९. सोभित बुद्ध, १०. अनोमदस्सी बुद्ध, ११. पदुम बुद्ध, १२. नारद बुद्ध, १३. पदुमुत्तर बुद्ध, १४. सुमेध बुद्ध, १५. सुजात बुद्ध, १६. पियदस्सी बुद्ध, १७. अत्थदस्सी बुद्ध, १८. धम्मदस्सी बुद्ध, १९. सिद्धत्थ बुद्ध, २०. तिस्स बुद्ध, २१. फुस्स बुद्ध, २२. विपस्सी बुद्ध, २३. सिखी बुद्ध, २४. वेस्भू बुद्ध, २५. ककुसंघ बुद्ध, २६. कोणागमन बुद्ध, २७. कस्सप बुद्ध, २८. गोतम बुद्ध हुन् भने अब हुने बुद्ध २९ औं हुन् र उनको मैत्रेय बुद्ध हुनेछ । (यी नामहरू प्राकृत भाषामा छन् ।) 

बुद्धका यी नामहरूलाई बुद्धको अवतारका रूपमा मान्न् मान्यता पनि रहेको छ भने यी नामहरू एउटै बुद्धका नाम नभई बुद्धहरूको सङ्ख्याको रूपमा मान्ने गरेको देखिन्छ । नमान्नेहरूले पनि बुद्धको त्याग, तप(साधना÷खोज) र निष्कर्षहरूबाट शिक्षा लिन आवश्यक छ । खासगरी, बुद्धका यी निष्कर्षहरू — ‘बुद्ध शरणं गच्छामि अर्थात् ज्ञानको शरणमा जान्छु, ज्ञानलाई सर्वोपरि महत्व दिन्छु । धम्मं शरणं गच्छामि अर्थात् धर्मको शरणमा जान्छु, नीति—नियम, आचरण, कर्तव्य आदिलाई स्वीकार र सम्मान गर्दछु । संघं शरणं गच्छामि अर्थात् संघको शरणमा जान्छु, मेलजोलमा बस्दछु, अर्काको दुःखमा साथसहयोग गर्न र आफ्नो असहजतामा सबैलाई सहभागी बनाउने व्यवहार आत्मसात गर्दछु ।’ यी निष्कर्षहरू मन्त्रका रूपमा स्वीकृत छन् । यति मात्र पर्याप्त छैन, यी निष्कर्षका पछाडि त्यतिबेलाको सामाजिक अवस्थाको सङ्केत गर्दछन् । ज्ञान, धर्म र सङ्घलाई सर्वोपरि स्वीकार गरी सम्मान गर्नुपर्ने आवश्यकताबारे सामाजिक अध्ययन गरेर नै बुद्ध यस निष्कर्षमा पुगेको सहज अनुमान गर्न सकिन्छ ।  हुन त बुद्धका यी निष्कर्ष कालजयी छन् र त बुद्ध कालजयी छन् । बुद्धको उपदेशमा रहेको अष्टांग मार्गको ‘१.सम्यक दृष्टि २. सम्यक संकल्प ३. सम्यक वचन ४.सम्यक कर्म, ५. सम्यक आजीविका ६.सम्यक व्यायाम ७. सम्यक स्मृति ८. सम्यक समाधि’ लाई वैयक्तिक जीवनदेखि राष्ट्रिय स्तरका योजना तर्जुमा गर्न उपयोग गर्न सकिन्छ । दृष्टिकोण, दृढ संकल्प, सन्तुलित र संयमित वचन, निरन्तर सत्कर्म, सदाचारमा आधारित आजीविका, स्वस्थ शरीर, स्मरणशीलता, सन्तुष्टिका विषयले गरेको स्पष्ट र सारभूत मार्गदर्शन हामीले ग्रहण गर्नुपर्दछ ।  

यी विषय उपदेश र प्रवचनका मात्र विषय होइनन्, व्यावहारिक जीवनका उन्नतिका लागि वैज्ञानिक मार्गदर्शन हुन् । बुद्धको जाति, वर्ण, वंशको हिसाब गरेर, कसैसँग फरक देखाएर होइन, बुद्धको जीवनी र जन्मस्थल मात्र होइन; बुद्ध सनातन र वैशिष्ट्य दुवै दृष्टिले हाम्रा मार्गदर्शन हुन् । कम्तीमा बुद्ध हिन्दु र बौद्ध दुवैका बराबर हुन् । यस मान्यताले हामी हाम्रो संस्कृतिका आधारहरू एउटै रहेको पाउने छौँ । यसबाट हामी ठुलो अन्तर्विरोधबाट मुक्त हुन सक्दछौँ । बुद्धलाई हिन्दु धर्मग्रन्थमा भेटिनुलाई, विष्णुको अवतारको रूपमा ग्रहण गर्नुलाई ‘हिन्दूकरण’ गर्ने सन्दर्भमा नभई बौद्ध र हिन्दूको मिलन बिन्दुका रूपमा बुझ्नु सबैका लागि श्रेयस्कर होला !

संसारले हरेक वर्ष वैशाख पूर्णिका दिन बुद्धको जन्म दिन मनाउँछ, हामी पनि मनाउँछौँ, मनाइरहेका छौँ । बुद्धको जन्म, वंश, त्याग र उपदेशको चर्चा हुने गर्दछ । बुद्धलाई धर्म, वर्ण, अवतारसँग जोडेर पनि चर्चा गरिएकै हुन्छ । तर, के हामी बुद्धको जन्मभूमिका मानिसहरूले बुद्धलाई आफ्नो निजी, सामाजिक र राष्ट्रिय(राजकीय) जीवनमा अनुवाद गरेका छौँ ? के बुद्ध चर्चाका मात्र विषय हुन् ? के यिनी धार्मिक मत—मान्यताका विवादका विषय हुन् ? के बुद्धको खोजबाट हामी वर्तमान र भविष्यका लागि लाभान्वित हुन सक्ने मौलिक मार्गदर्शन फेला पार्न र त्यसलाई अवलम्बन गर्न सक्दैनौँ ? बुद्धको सङ्केतलाई हामीले हाम्रा समस्या समाधान र अवसर विकासको माध्यम बनाउन सक्दैनौँ ? यस्ता प्रश्नहरूप्रति इमानदार भयौँ भने बुद्धको सार संरक्षण गर्न र त्यसबाट लाभान्वित भइरहन सकिने छ, अन्यथा बौद्धलाई खोक्रा आदर्शवादी कथा र उहाँको जन्मस्थलको सारहीन भग्नावशेषको कथामा सीमित पारेका हुनेछौँ । 

सबैमा बुद्धको २५६६ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना । भवतु सब्ब मङ्गलम् !!

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ५५ बजे