राष्ट्रपतिद्वारा २५६६औँ बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको  भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त आह्वान गर्नुभएको हो ।

“मुलुकभर छरिएका चैत्य, गुम्बा, विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्त्विक स्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पुर्‍याउनु आवश्यक छ,” सन्देशमा भनिएको छ, “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।”

प्राचीन बौद्ध सभ्यताको उद्गमस्थल भएको हुनाले नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठुलो अवसर विद्यमान हुँदा समुचित उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

“बुद्धका उपदेशको पालना एवं अनुसरण गरी हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिन्छ,” सन्देशमा भनिएको छ, “समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।”

सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दुःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको सन्देशमा छ । नेपाली भूखण्डमा प्राचीन कालदेखि नै ज्ञान  र चिन्तन परम्पराको उच्च स्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट परेको बताइएको  छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोग पर्ने भएकाले यस दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्ति भाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश
​​​​​​​राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने  शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा नेपाली किरात समुदायको महान् पर्व उभौलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“प्रकृतिको ऋतुचक्रसँग तादात्म्य कायम गरी कृषिबाट जीवनवृत्ति गर्ने समुदायले ठुलो महत्त्वका साथ मनाउने उभौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै प्रकृति र वातावरणको संरक्षणका लागिसमेत हामी सबैलाई उत्प्रेरित गर्दछ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “उभौलीजस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।”

किरात समुदायमा प्रकृति र पितृ पूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसमसमेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस् । रोगव्याधि नलागोस् । सुख्खाखडेरी, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिहरू नआउन भनी पितृ र भूमिको पूजा गर्ने परम्परा रहेको छ ।

जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा ९ वैशाख पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । विशेष गरी पूर्वी पहाड र तराईका जिल्लाहरूका साथै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायमा यो पर्वलाई भव्यताका साथ मनाउने गरिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : १८ बजे