तीन प्रदेशमा वर्षाको सम्भावना

निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गर्यो : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । 

गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताउनुभयो । 

तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताउनुभयो । 

‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’, न्युज कारखानासँग ज्ञवालीले भन्नुभयो ।

उहाँले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ । त्यसले रुझानलाई देखाउँछ । अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो ।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ ।

उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताउनुभयो । 

एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो । झण्डै तीन सय स्थानीय तह एमालेले जितेको थियो । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ०६ बजे