भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै हुनुहुन्छ । 

भारतीय प्रधानमन्त्रीको रूपमा पाँचौँ पटक नेपाल आउन लाग्नुभएका प्रधानमन्त्री मोदी सोमबार सिँधै लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कनुहुनेछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएको हो  । 

उहाँ भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार बिहान ११ः०० बजेतिर लुम्बिनी आउनुहुनेछ । 

हेलिकप्टरबाट झरेपछि उहाँ सिँधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनुहुने छ  । साढे ११ बजे मोदी त्यहीँ आयोजना गरिने भूमि पूजा कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ । 

प्रधानमन्त्री मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूजा र शिलान्यासको काम सकेपछि उहाँ लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानुहुने छ । केही समय उहाँले त्यही होटलमा बिताउनुहुने छ। 

होटलमा नै परराष्ट्र मन्त्री डा.नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीँ सुरु हुनेछ । 

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ  । प्रधानमन्त्री मोदी दिवा भोजमा सहभागी सहभागी भएपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुहुने छ ।

सोमबार साढे ३बजे उहाँले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ बेलुकी ५ः०० बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कनुहुने जनाइएको छ । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : २७ बजे