मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जनाएको छ । 

गुरुङका निकटतम प्रतिस्पर्धी काँग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाउनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताउनुभयो ।  

लोमान्थाङको वडा नं १ र ५ मा काँग्रेसका तथा २, ३ र ४ नं वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

वडा नं १ मा पेमाआङग्या गुरुङ, २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा ढुकके विष्ट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

पाँच वटा वडा रहेको लामोन्थाङमा एक हजार ९४८ जना मतदाता रहेकामा शुक्रवार मतदानमा एक हजार २३१ मत खसेको थियो । 

मुस्ताङको पाँच वटा स्थानीय तहमध्ये थासाङ बाहेकका स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । 

एमालेले लोमान्थाङसहित लोघेकर दामोदर कुण्ड र वारागुङ मुक्तिक्षेत्र तथा कांग्रेसले घरपझोङ गाउँपालिकामा जीत हासिल गरेको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २७ बजे